राजमार्ग (सडक) सुरक्षाका लागि तयारी अवस्थामा रहन निर्देशन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वर्षातको मौसममा हुन सक्ने बाढीपहिरो जस्ता विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तयार अवस्थामा रहन सरोकारवालालाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतमा आज वीरेन्द्रनगरमा बसेको बैठकले वर्षातको समयमा राजमार्ग (सडक) मा हुने अवरोध हटाउन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक उपकरण मेसिनरीसहित (क्वीक रेस्पान्स टीम) तत्काल उद्धार कार्य दललाई अभिमुखिकरण दिएर तयार अवस्था रहन निर्देशन दिएको हो ।
वर्षातको मौसम जतिबेला पनि विपद् आई लाग्ने भएकाले आवश्यक स्रोत साधनसहित दक्ष जनशक्तिका साथ तयारी अवस्था राख्न प्रजिअ रिजालले सम्बन्धित कार्यालयका प्रतिनिधिलाई निर्देशन दिनुभयो ।
उहाँले जिल्ला भित्रका सडक तथा राजमार्ग क्षेत्रमा सकेसम्म घटना हुनै नदिने र कुनै कारणवश अप्रिय घटना घटी नै हाले तत्काल क्वीक रेस्पान्स टिमसहित मेडिकल टिमलगायतका अन्य आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो ।
बैठकमा जिल्ला भित्रका सम्भावित विपद्का उच्च जोखिमपूर्ण स्थानहरूको पहिचान, पूर्व सूचना प्रणाली, उद्धार तथा राहतलगायत आवश्यक तयारी भइरहेको सरोकारवालाले बताएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले कर्णाली राजमार्ग, छिन्चु–जाजरकोट सडक, रत्न राजमार्गलगायत अन्य सहायक सडकहरूको सुरक्षा, सडक सीमा संरक्षण, मर्मत सम्भार, सडक सुरक्षा सचेतनालगायतका कार्य तत्काल सुचारु गर्ने सहमति भएको जानकारी दिनुभयो ।
उहाँले बैठकमा स्थानीय तहको समन्वयमा ईलाका ईलाका स्तरीय (क्वीक रेस्पान्स टीम) तत्काल उद्धार कार्य दल समेत छिट्टै गठन गर्ने निर्णय भएको बताउनुभयो ।
बैठकमा प्रजिअ रिजाल, सहायक प्रजिअ पाण्डे, प्रशासकीय अधिकृत पदमलाल लामिछाने, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, ट्राफिक प्रहरी, सडक डिभिजन कार्यालय, यातायात व्यवस्था कार्यालय, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, यातायात व्यवसायी र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्