तपाईँ सुन्दै हुनुहुन्छः

खरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने ११ पसललाई जरिवाना

राजविराज  । खरिद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने सप्तरीको राजविराज र सिरहाको लहानका ११ पसललाई जरिवाना गरिएको छ । राजविराजका ७ र लहानका ४ पसललाई जरिवाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेको छ । त्यस क्रममा खरिद बिल नदेखाउने, अनुगमन कार्यमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलीप खंग खत्बेले जानकारी दिनुभयो ।

उनका अनुसार मूल्य सूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ । खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर, नदिना फ्रुट एण्ड जनरल स्टोरलाई रु २० हजारका दरले र गौरव ट्रेडर्स  एण्ड सप्लायर्सलाई रु १० हजार, सिता ट्रेडर्स र लेडी  कलेक्सनलाई रु ५ हजारका दरले जरिवाना तोकिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी खत्बेले जानकारी दिनुभयो । 

उहाँका अनुसार अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिद बिक्री केन्द्र र न्यु पूजा बस्त्रालयलाई २० हजार रुपैयाँको दरले जरिवाना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button