विपद् पूर्वतयारीमा जुट्दै जुम्लाका स्थानीयतह

जुम्ला । मनसुन भित्रिन थालेपछि जुम्लाका स्थानीयतह विपद् पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्धार र पुनर्स्थापना लागि स्थानीयतह विपद् पूर्वतयारीमा जुटेका हुन् । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले आगामी आवको बजेटमा विपद् व्यवस्थापनका लागि न्यूनतम १५ लाख देखि ५० लाख सम्म बजेट विनियोजन गरेका छन् ।
सोमबार जिल्ला प्रशासनमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा जुम्लाका आठै स्थानीयतहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिका बीच प्रभावकारी समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् ।
पूर्वसूचना प्राप्त, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनर्स्थापना लागि अन्तरपालिका बीच हातेमालो हुनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,“विगतमा समन्वय नहुँदा जोखिम न्यूनीकरण तथा राहत उद्धारमा ढिलाइ भयो । पूर्वतयारी पनि मजबुत देखिएन । मनसुन भित्रिन थालेकोको छ । योजना सहितको पूर्वतयारीमा सबै स्थानीयतह एकजुट हुनु आवश्यक देखिएको छ ।”
चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले विपद् पुर्वतयारीसंगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । जुगाड खोला सरसफाई देखि बाढी पहिरो लगायतका घटनाबाट प्रभावितको राहत उद्धारमा नगर तयार रहेको उहाँको भनाई छ ।
विपदबाट हुने जनधनको क्षति कम गर्न मजबुत पूर्वतयारी प्रतिकार्य योजना आवश्यक छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले भन्नुभयो, “हिमाले विपद् व्यवस्थापनमा ५ लाख विनियोजन गरेको छ । राहत उद्धार र पुनर्स्थापनाको नीतिगत व्यवस्थापन हुन जरुरी छ । हिमामा पालिका स्तरीय उद्धार टोली पनि बनाउँदै छौ । विपद् व्यवस्थापनका बजेट बढाउने सोचमा छौ ।”
यता तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईले विपद् व्यवस्थापनले आफ्नो पालिकाले ४५ लाख छुटाइको बताउनुभयो । आठै पालिका र प्रहरी प्रशासनको सहकार्य बिना विपद् जोखिम न्यूनीकरण सम्भव नरहेको हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
नागरिक अगुवा राज बहादुर महतले बाढी पहिरो, सडक अवरुद्ध, खाद्यान्न आपूर्ति, पुनर्स्थापना, उपचार लगायतका राहत उद्धारका कार्य छिटो छरितो गर्नका लागि सडक, खाद्य,स्वास्थ्य, कृषि लगायतका सरोकारवाला निकाय तैनाथ हुनु पर्ने सुझाव दिनुभयो ।
प्रशासनले दियो ५९ लाखको राहत
जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आवमा झण्डै ५९ लाख बढी राहत वितरण गरेको छ । बाढी पहिरो,आगलागी जस्ता विपदबाट प्रभावित तथा कोभिड प्रभावितहरूलाई प्रशासनले चालु आवमा करिब ५९ लाख ३० हजार बढी राहत वितरण गरेको हो ।
जुम्लामा चालु आवको हाल सम्म बाढी पहिरो र आगलागीमा परी मृत्यु भएका ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका ११ जनाको घर परिवारलाई प्रशासनको विपद् व्यवस्थापन कोषबाट १९ लाख राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले बताउनुभयो ।
सोमबार विपद्को बैठकमा प्रजिअ प्रसाईँले अन्य हिउँ पहिरोमा परेका,बाढीमा परेका विपद् प्रभावितलाई भने १५ लाख ३० हजार गरी जम्मा ३४ लाख ३० हजार राहत वितरण गरिएको उहाँको भनाई छ ।
त्यस्तै पहिलो र दोस्रो र तेस्रो लहरको कोभिडबाट मृत्यु भएकालाई परिवारलाई २५ लाख राहत वितरण गरिएको छ । भने यसरी विपद् र कोभिड प्रभावितहरूलाई गरी जम्मा ५९ लाख ३० हजार राहत उपलब्ध गराइएको हो ।
साथै विपद् व्यवस्थापनको टोलीले चालु आवको हाल सम्म १३ वटा आगलागीका घटनामा नियन्त्रण,५ वटा विपद् उद्धारको सिमुलेसन, हिउँमा फसेको उद्धार, कोभिड रोकथाम नियन्त्रण लगायतका काम गरेको छ ।
आगामी दिनमा स्थानीय तहको विपद् प्रतिकार्य योजना बनाउनु पर्ने, प्रभावकारी समन्वय गर्नु पर्ने, विपद् उद्धार सामाग्रीको व्यवस्थापन, सचेतना अभिवृद्धि, स्थानीयतहमा एम्बुलेन्स र दमकलको व्यवस्थापन, जनशक्ति परिचालन, विपद् कोष स्थापना र कार्यान्वयन गर्ने आठै स्थानीयतहले प्रमुखले प्रतिबद्धता गरेका छन् ।
भकारी परियोजनाका विपद् सल्लाहकार टिकाराम खड्काले जुम्लामा आठ पालिका मध्य तिला र तातोपानीको मात्रै आपतकालीन विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७८ बनेको बताउनुभयो ।
अन्य ६ पालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि बन्न बाँकी छ । नदी नियन्त्रण रोक्नु पर्ने, डोजरे विकास अन्त्य गर्नुपर्ने, वृक्षारोपण गर्नु पर्ने र विपदमा पूर्वतयारीको ठोस योजना बनाई सतर्क हुनु पर्नेका जुम्लाका राजनीति दलको सुझाव छ ।







प्रतिक्रिया राख्नुहोस्