तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा हालसम्म १२ जनामा हैजा पुष्टि

काठमाडौँ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिनुभएको छ । 

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा निर्देशक दासले हालसम्म नेपालमा १२ जनामा हैजाको जीवाणु देखिएको र ८ जना निको भएर घर फर्किसकेको जनाकारी गराउनुभयो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर दासले बाँकी ४ जना बिरामीको  टेकु पाटन र बयोधा अस्पतालमा उपचार भइरहेको जानकारी बैठकलाई गराउनुभयो । 

बागबजार, सानेपा र डिल्लीबजार क्षेत्रको पानीमा हैजाको जीवाणु भेटिएको जानकारी गराउनुहुँदै  उहाँले नमुना परीक्षण गर्दा, बोरिङ, पम्प, जार र  काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको पानी पनि प्रदूषित पाइएको बताउनुभयो । 

काठमाडौँ उपत्यकाबाहेक पनि केही प्रदेशहरूमा नमुना परीक्षण भइरहेको उहाँले बताउनुभयो । 

डा. दासले सीमानाकामा भारतबाट आउनेहरूमा कोरोना परीक्षण सुरु गरिएको र उनीहरूमा कोरोनासँगै मलेरिया संक्रमण पनि  भेटिएको  जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरू मीनबहादुर विश्वकर्मा, तिलबहादुर महत, जगतबहादुर विश्वकर्मा, अन्जना विशंखे लगायतले  हैजाले महामारीको रूप लिन सक्ने भन्नुहुँदै सरकारी निकायसँगै नागरिकहरू पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँहरूले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले सरकारले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइ गर्नुपर्ने र  कल्याणकारी राज्यको अवधारणाका आधारमा औषधिको मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button