तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ: महामन्त्री थापा

दमौली । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले काम गरेर प्रतिफल दिनुपर्ने बताउनुभएको छ ।

फाइल तस्बिर

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले दुलेगौँडामा आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा उहाँले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जबाफदेहिता र पारदर्शिता कायम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सेवा प्रवाहमा सृजनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका खास मुद्दालाई एजेन्डा बनाएर अगाडि जान जरुरी रहेको बताउनुभयो । काँग्रेसले देशभर सबैभन्दा बढी पालिका जितेकाले कांग्रेस कमजोर नरहेको चर्चा गर्दै पौडेलले कमजोरी सुधार्न नसक्दा केही बढी सिट जित्न नसकेको उल्लेख गर्नुभयो ।

तनहुँ क्षेत्र नम्बर २ का सभापति चूडामणि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेता यज्ञ थापा लगायतले धारणा राख्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button