राष्ट्रिय अर्थतन्त्रमा बन क्षेत्रको योगदान बढाउनु जरुरी : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोक जिल्लाबाट केही अगुवाहरूले सुरु गरेको सामुदायिक बनले अहिले देशव्यापी रूप लिई बनको संरक्षणमा दिइरहेको योगदान निकै सराहनीय भएको बताउनुभएको छ ।
सामुदायिक बन उपभोक्ता महासङ्घले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको सामुदायिक बनसम्बन्धी छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय अर्थतन्त्रमा बन क्षेत्रको योगदान बढाउनु जरुरी रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले देशमा विद्यमान हालको व्यापार घाटाको अवस्थालाई निरुत्साहित गर्न जडीबुटी खेती र बन पैदावारको व्यवस्थापनबाट सहयोग दिन सकिने भएकाले यस तर्फ सरोकारवाला सबैले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
भू–संरक्षणका लागि पनि बन क्षेत्रको विकास र संरक्षण निकै जरुरी रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले अब हरेक क्षेत्रमा बढ्दै गरेको आयातको अवस्थालाई कम गर्दै देशबाट निर्यात गर्न सक्ने गरी हरेक क्षेत्रमा उत्पादन बढाउने गरी काम गर्नुपर्ने बेला आइसकेको पनि बताउनुभयो ।
कार्यक्रममा सामुदायिक बनका विज्ञ डा.भरत पोखरेलले सामुदायिक बनको अवधारणाबाट देशको बन हराभरा भए पनि विभिन्न नीतिगत समस्याका कारण आर्थिक रुपमा फाइदा लिन नसकिरहेको प्रसङ्ग उल्लेख गर्दै यस तर्फ राज्यले ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।
त्यस अवसरमा सामुदायिक बन क्षेत्रका विभिन्न विज्ञहरूले सामुदायिक बन क्षेत्रमा रहेको पुराना रुखहरूको व्यवस्थापन गर्दै काठ निकासी गर्न सके त्यसले मुलुकले हाल गर्दै आएको काठको आयात गर्न नपर्ने बताउनुभयो ।
मुलुकको व्यापार घाटालाई कम गर्न बन क्षेत्रको व्यवस्थापन र कृषिको सामुदायिकीकरण जरुरी रहेको पनि विज्ञहरूले त्यस अवसरमा उल्लेख गर्नुभयो ।
नेपालमा सामुदायिक बनको सुरुवात भएपछि हालसम्म १० अर्ब जति बिरुवाको संरक्षण भएको छ भने ६७ प्रतिशत जनताको यसमा सहभागिता रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्