१९ दिनदेखि नगरपालिका बन्द: नीति, बजेट तथा कार्यक्रम प्रभावित
अछाम । देशका विभिन्न पालिकाहरूका अधिवेशनहरू धमाधम भइरहेका बेला अछामको एक नगरपालिका विगत १९ दिनदेखि बन्द छ ।
१६ वर्षीय एक युवकको हत्या भएको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा लगाइएको ताला १९ दिनसम्म खुल्न सकेको छैन। यसअघि नगरपालिकामा मात्रै तालाबन्दी गरिएकोमा बिहीबारदेखि नगरका ९ वटै वडा कार्यालयमा समेत पीडित पक्षले तालाबन्दी गरेको छ । नगर क्षेत्रमा सरकारी नम्बर प्लेटका सवारी साधन समेत चल्न नदिने पीडित पक्षले बताएको छ ।

हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी कारबाहीको मागसहित जेठ २२ गते नगरपालिका र बिहीबारदेखि वडा कार्यालयमा तालाबन्दी गरिएको मृतकका दाजु बखत बहादुर शाहीले बताउनुभयो ।
ताला नखोलिएका कारण नगरबाट प्रवाह गरिने सार्वजनिक सेवा त प्रभावित भएका छन् नै आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम पनि पूर्ण रुपमा प्रभावित भएको छ ।
हत्याका योजनाकार नगर प्रमुख अम्बिका चलाउने रहेको भन्दै पीडित पक्षले चलाउनेसहित १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा जेठ २५ गते किटानी जाहेरी दर्ता गरेको थियो । हालसम्म मुख्य आरोपीलाई पक्राउ नगरिएको भन्दै पीडित पक्ष थप आक्रोशित बनेको छ ।
प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने नगरप्रमुख चलाउने सहित ८ जना फरार रहेको जनाएको छ ।
स्थानीयको झडपपछि प्रहरी पुगे लगत्तै जेठ १७ गते सम्पर्क विहीन भएका पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाहीको शव जेठ २१ गते वडा नम्बर ३ स्थित पञ्चदेवल क्याम्पस नजिक भीरमा फेला परेको थियो। मृतकको शव फेला परेको पाँच दिनपछि पोस्टमार्टम गरेर परिवारले दाहसंस्कार गरेका थिए।







प्रतिक्रिया राख्नुहोस्