तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना सङ्क्रमण बढ्दै

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो । पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ ।

कोरोना भाइरसको आशङ्कामा बुधवार ३५९ जना र आज बिहीबार ३२८ जनाको नमुना परीक्षण गरिएको थियो । पछिल्ला दिनमा यो रोगको सङ्क्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ ।

छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ ।

सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको सङ्क्रमण बढ्न थालेको बताइएको छ । सीमानाका हुँदै भित्रिनेको नमुना परीक्षणको कामलाई प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न सीमा नाकाबाट बुधवार ६६४ र आज ५८७ जना नेपाल भित्रिएको जनाइएको छ । सीमा नाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र एन्टिजेन विधिबाट नमुना परीक्षण हुने गरेको छ ।

प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ । पछिल्ला दिनमा कोरोनाविरुद्धको खोप नपाएका बालबालिकालाई खोप दिन सुरु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button