हिंसामा परेकी राधिकाकी आमाद्वारा प्रहरीमा जाहेरी
जनकपुरधाम । जनकपुरमा २२ वर्षीया राधिका कार्कीलाई करेन्ट लगाएर भएको हत्या प्रयासको घटनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । पीडित राधिकाकी आमा सिन्धुलीको गोलञ्जर गाउँपालिका–२ बस्ने अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिनुभएको हो ।
राधिकाकी आमाले शङ्कास्पद पीडकको नाम राखेर जाहेरी दिनुभएको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

क्षेत्रीले पीडितकी आमाले जाहेरी दिनुभएको र पीडक पत्ता लागेपछि दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।
जेठ १६ गते साँझ प्रेमी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका बस्ने वर्ष २८ का अरुणकुमार साहले प्रेमिका राधिकाको चारै हातखुट्टा र पेटमा करेन्ट लगाएर हत्या प्रयास गरेका थिए । विवाह गर्ने प्रलोभनमा आठ महिनादेखि जनकपरको थापाचोकमा दुबै जना बस्दै आएका थिए । सो दिन राधिकाले वाचा गरेअनुसार घर लग्न भनेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि अरुणले हातखुट्टामा करेन्ट लगाएर हत्या प्रयास गरेको पीडित राधिकाले बताउनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते राधिकालाई प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो । प्रादेशिक अस्पतालको सर्जिकल वार्डमा राधिकाको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा.अश्विनी यादवका अनुसार करेन्ट लागेका कारण राधिकाको हात खुट्टाको केही औँला काम नलाग्ने अवस्थामा छन् जुन काटेरै हटाउनुपर्ने अवस्था छ ।
यसैबीच राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली सहितका पदाधिकारीहरूले अस्पतालमा पुगी पीडित बालिकाको अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्