‘महिला माथिको हिंसाको प्रमुख कारण अशिक्षा र गरिबी’
जनकपुरधाम । मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकूदमन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशमा महिलामाथि हिंसा हुनुको प्रमुख कारण अशिक्षा तथा गरिबी भएको बताउनुभएको छ ।

महिला आयोगद्वारा आज जनकपुरधाममा आयोजना गरिएको नेपाल पक्ष रहेका महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री सिंहले महिला हिंसा कम गर्न महिलाको शिक्षा, स्वास्थ्य तथा आर्थिक अवस्थामा सुधार गर्न जरुरी रहेको बताउँदै त्यसका लागि प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले कक्षा १२ का सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई ल्यापटप वितरण गर्ने, महिलालाई प्रोत्साहित गर्न स्वरोजगारमूलक तालिम कार्यक्रम पनि गरिरहेको बताउनुभयो । मन्त्री सिंहले मधेश प्रदेशमा रहेका सबै वृद्धाश्रम तथा बाल आश्रमलाई व्यवस्थित गर्ने र त्यहाँ रहेका पीडित व्यक्तिहरूलाई मासिक रुपमा १ हजार ५ सय भरणपोषणका लागि सहयोग गर्ने प्रदेश सरकारको नीति रहेको बताउनुभयो ।
अध्यक्षको आसनबाट महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला हिंसा कम गर्न भएको ऐन कानूनको प्रभावकारी कार्यान्वयन भएको खण्डमा धेरै समस्याको समाधान हुने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले महिला हिंसा नियन्त्रणका लागि न्यायिक समितिले कामकाज गरिरहेको र भविष्यमा अझै प्रभाकारी किसिमले काम गर्ने बताउनुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महिला हिंसा कम गर्न ईलाका प्रहरी कार्यालयसम्म महिला सेलको व्यवस्था भएको बताउँदै महिला हिंसाको नियन्त्रण तथा रोकथामका लागि प्रशासन तयार रहेको बताउनुभयो ।
प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रमीला सिंहले महिला शिक्षित भएर आत्मनिर्भर नबनेसम्म हिंसा कम गर्न कठिन भएको बताउनुभयो ।
कार्यक्रममा महिला आयोगका सदस्यहरु तथा अन्य सहभागीहरूले महिलामाथि हुने हिंसाको अन्त्य गर्न सबै क्षेत्रको सहयोग एवं साथ आवश्यक भएको बताउनुभएको थियो । अन्तरक्रियामा महिलामाथि हुने गरेका विभिन्न हिंसा रोकथामको प्रयास तथा अन्य सुधारका विषयमा अधिकारकर्मीहरूले राय सुझाव दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्