तपाईँ सुन्दै हुनुहुन्छः

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको कारण बारे सदनमा जानकारी गराउन सभामुखको रुलिङ 

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथिको सैद्धान्तिक छलफल जारी छ । 

छलफलमा भाग लिँदै सांसदहरुले सैद्धान्तिक “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) लगायतका विधेयकहरूमा थाती रहेकाले अति आवश्यक विधेयकहरूलाई चाँडो निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभएको छ । 

गृहमन्त्री बालकृष्ण खाणले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएका थियो । 

यस्तै, प्रतिनिधिसभाको आजैको बैठकमा कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “कानून न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७९” पेश गर्नुभएको थियो । 

यसअघि, बैठकको प्रारम्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण सरकारले सदनमा जानकारी गराउनुपर्ने माग गरेको थियो । 

नेकपा एमाले संसदीय दलका तर्फका सांसद पद्माकुमारी अर्यालले मूल्यवृद्धिको कारण सदनमा जानकारी गराउन रुलिङको माग गर्दै चित्त बुझ्दो जवाफ नआए सदन अघि बढ्न नसक्ने बताउनुभएको थियो ।

लगत्तै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू आफ्नो स्थानबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले मूल्यवृद्धिप्रति सरकारलाई रुलिङ गर्दै मूल्यवृद्धिको सत्य तथ्य सदनमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको थियो । 

बैठकमा सांसदहरुले मूल्यवृद्धि, विद्यार्थीमाथि प्रहरीले दमन गरेको, कृषि क्षेत्रमा बाढीले पुर्‍याएको क्षति, दोलखाको एक घरमा भएको लुटपाट, मल अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

आजको बैठकमा ‘आर्थिक विधेयक, २०७९’मा छलफल गर्ने र यसलाई निर्णयार्थ  प्रस्तुत गर्ने कार्यसूची राखिएको । 

यस्तै सभामा अर्थमन्त्री जनार्दन शर्माले “राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र “ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल गर्ने, निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची समेत रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button