तपाईँ सुन्दै हुनुहुन्छः

गोकर्णेश्वर नगरपालिकाले दुई जनालाई नर्सिङ अध्ययनमा छात्रवृत्तिको व्यवस्था गर्ने   

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले आगामी आर्थिक वर्षदेखि प्रत्येक वडाबाट  दुई जनालाई नर्सिङ अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने  बताउनुभएको छ ।

सुन्दरिजल महिला सञ्जालद्वारा आज वडा नम्बर १ स्थित राधाकृष्ण मन्दिरमा आयोजित महिला स्तरोन्नति तथा सुदृढीकरण सम्बन्धी साक्षात्कार कार्यक्रममा प्रमुख रिसालले महिलाहरूको लागि प्रतिस्पर्धी र आय आर्जन हुने किसिमको कार्यक्रम सञ्चालनमा नगरपालिकाले जोड दिने उल्लेख गर्नभयो ।

उपप्रमुख सान्नानी लामाले नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा थप महिलालक्षित कार्यक्रम समावेश गरिने जानकारी गराउनुभयो ।

पूर्व उपप्रमुख शान्ति नेपालले महिलालक्षित विगतमा सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गर्नभयो ।

वडा नम्बर १ का अध्यक्ष द्वारिका श्रेष्ठले महिला सबलीकरणका लागि पुरुषको साथ र सहयोग महत्त्वपूर्ण हुने भएकाले महिलाको स्तर उन्नतिका लागि घर घरबाट अभियान सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

सञ्जालकी अध्यक्ष उमा अर्यालले महिलाहरूको स्तर उन्नतिका लागि तत्काल र दीर्घकालिक रुपमा सञ्चालन गर्नुपर्ने माग तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button