खेलकुद मन्त्री अथक र रसियाका खेलकुद मन्त्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । रसियाको भ्रमणमा रहनुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुग्नुभएका मन्त्री अथकले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गर्नुभएको हो ।
भेटवार्ताका क्रममा दुई देशीय हितको विषयमा छलफल भएको थियो । रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरूलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरूलाई तालिम दिने तथा दुवै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया इच्छुक रहेको बताउनुभएको थियो । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
भेटमा बोल्दै मन्त्री अथकले नेपाल र रसिया बीचको ६६ वर्ष लामो कूटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेललाई कूटनीतिको प्रमुख अङ्ग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गर्नुभएको थियो ।
भेटकै क्रममा मन्त्री अथकले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिनुभएको छ ।
उक्त अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अब नेपाल रसिया सम्बन्ध खेल पर्यटन र खेल कूटनीतिमा समेत आधारित हुने बताउनुभएको थियो ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहनुभएका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्