सङ्घीय संरचनाबारे हचुवाको भरमा टिप्पणी नगरौँ: सभामुख श्रेष्ठ
मकवानपुर । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको सङ्घीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरूलाई आग्रह गर्नुभएको छ ।

बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिले मङ्गलवार हेटौँडामा आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक अन्तरक्रियामा उहाँले सङ्घीय संरचनाबारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले गरेका कामहरूको समीक्षा हुनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद सीता लामाले अपाङ्गता भएका व्यक्तिका लागि प्रदेशले आवश्यक बजेट छुट्याउन नसकेको गुनासो गर्नुभयो । उहाँले सामाजिक वृद्धि विकास गर्ने कुरा नीतिमा कागजमै सीमित भएको तर बजेटमा आउन नसकेको धारणा राख्नुभयो ।
अर्का सांसद सरेश नेपालले नेपाली समाजमा महिलाहरूमा सबैभन्दा ठूलो समस्या सम्पत्तिको अधिकारको व्यावहारिक उपयोगको रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तन र त्यसका असर ध्यानमा राखेर नदी किनारमा सडक र बस्ती बसाल्ने कुरालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सांसद डा. राजाराम कार्कीले दिगो विकासको लक्ष्य प्राप्त गर्न प्रति वर्ष ३४ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्नुपर्ने अवस्था रहे पनि साधारण खर्च बढी हुने गरेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आलेमगरले नागरिकले नागरिक मैत्री ऐन भन्दा पनि नागरिक मैत्री विकास चाहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्