तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा चार सुरक्षा निकायद्वारा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास

जनकपुरधाम । बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास सम्पन्न भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास सम्पन्न भएको छ ।

जनकपुरधामको गङ्गा सागरमा जिल्लाका मुख्य नदीलाई प्रतिकात्मक रुपमा चार भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले बोडिङ, लाइफ ज्याकेट लगायतको सामग्रीको सहायतामा विपतमा परेकाहरूको उद्धारसम्बन्धी कृत्रिम अभ्यास गरेको छ ।

विपद्का समस्या पीडितलाई कसरी उद्धार गर्ने, बाढीमा फसेकाहरूलाई कसरी उद्धार गरेर सुरक्षित स्थानमा लैजाने, घाइतेको प्राथमिक उपचार कसरी गर्ने, उद्धारका क्रममा सुरक्षाकर्मी आफू कसरी सुरक्षित हुने र विपद्का बेला के के कुरामा ध्यान दिने लगायतका विषय वस्तुलाई समेटेर सुरक्षाकर्मीले विपद् पूर्वाभ्यास कार्यक्रम प्रस्तुत गरेका थिए ।

मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद् कसैलाई सोधेर वा भनेर नआउने भएकाले विपद् प्रति समयमा सचेत भई त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताउनुभयो ।

उहाँले जनकपुरधाम विभिन्न नदीहरूको कारण बाढीको जोखिममा रहेकाले नदी नियन्त्रणका लागि प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्दै बाढीबाट हुने धनजनको क्षतिलाई रोक्न विपद् पूर्वाभ्यास कार्यक्रम महत्त्वपूर्ण कडी हुने विश्वास व्यक्त गर्नुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी पौडेलले विपद् व्यवस्थापनका लागि तीनै तहको सरकारबिच समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहहरू विपद् न्यूनीकरणका लागि आवश्यक योजना, कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय तहका सरकारलाई विपद् व्यवस्थापनमा सक्रिय बनाउन छिट्टै पालिका प्रमुखको बैठक बोलाउने जानकारी दिँदै मनसुन सक्रिय हुन थालेकाले विपद्को पूर्व तयारीमा जुट्न आग्रह गर्नुभयो ।

यसैबीच आजदेखि जनकपुरधाममा मनसुन सक्रिय भएर वर्षा पनि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button