गण्डकीका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण
गण्डकी । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा गण्डकी प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण दिइएको छ ।
स्थानीय सरकार सञ्चालनमा जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकारसँगै जिम्मेवारी, दायित्व लगायत विषयमा जानकारी दिने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई सहज, सरल एवं प्रभावकारी सेवा प्रवाह गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गण्डकी आफैँमा सम्भावनायुक्त प्रदेश भएकाले एकापसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा र वरपरका सहरबिच सहकार्य गर्दै बृहत् पोखराको अवधारणा समेटेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले एकापसको सहकार्य र सहयोगले समृद्धि तथा विकासका लागि महत्त्वपूर्ण सहयोग मिल्ने हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
प्रदेश भित्रका ८५ वटै पालिकाका प्रमुख तथा उपप्रमुख सहभागी अभिमुखीकरण शनिवारसम्म चल्नेछ ।
रासस







प्रतिक्रिया राख्नुहोस्