तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिवबीच भेट 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वको टोलीबीच मुख्यमन्त्री कार्यालयमा बिहीबार औपचारिक भेट भएको छ । 

उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाते, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधि लगायत सहभागी हुनुहुन्थ्यो । 

गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, सचिव ज्ञानेन्द्र पौडेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल भेटमा सहभागी हुनुहुन्थ्यो । 

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम(युएनडिपी) को एसिया प्यासिफिक रिजनल ब्युरो डाइरेक्टर समेत रहेकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सङ्घीयताको सुदृढीकरण, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन र अनुभवहरूको आदान प्रदानमा यहाँहरूको सहयोगको अपेक्षा मैले गरेको छु ।’ गण्डकी प्रदेश सरकारले युएनडिपी सँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी उनले गराए । युएनडिपीको कार्यालय पोखरामा खोल्न पनि उहाँले आग्रह गर्नुभयो । 

सहायक महासचिव कान्नी विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिएकोमा उनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘साझा समस्या समस्या समाधान गर्न साझा प्रयत्न जरुरी छ । गरिबी, भोकमरी अन्त्यका लागि दिगो विकासका लक्ष्य हासिल गर्न सबैले सँगै यात्रा गर्नुपर्छ ।’ 

मुख्यमन्त्री पोखरेलले सुशासनको प्रत्याभूति, सङ्घीयताको सुदृढीकरण र विकासका कार्यमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ । ‘हामी अहिले कोभिडले थला पारेको सामाजिक तथा आर्थिक अवस्थालाई पुनरुत्थान गर्न अग्रसर छौँ । विषम परिस्थिति पार गर्दै गर्दा स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढङ्गबाट सम्बोधन गर्नका लागि आवश्यक तयारी थालिसकेका छौ,’ उहाँले भन्नुभयो । 

मुख्यमन्त्री पोखरेलले मित्रराष्ट्र फ्रान्सले दशकौँदेखि नेपालको विकासमा पुराउँदै आएको सहयोगका लागि राजदूतमार्फत फ्रान्स सरकार र फ्रान्सेली जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । 

यसैगरी नेपालले विकासका विविध आयाम र प्रविधिमा दक्षिण कोरियाबाट सहयोग पाउनुका अतिरिक्त नेपाली श्रमिकहरूले त्यहाँ सेवा गर्ने अवसर पाएको मुख्यमन्त्रीले बताए । गण्डकी विश्व विद्यालय र गण्डकी प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले कोइका समक्ष राखेको प्रस्तावबारे उनले स्मरण गराए । इसिमोडले गरेका अनुसन्धान नेपालका लागि उपयोगी हुँदै आएको भन्दै मुख्यमन्त्री पोखरेलले पर्वतमालाको संरक्षण र वातावरण संरक्षणमा इसिमोडले खेलेको भूमिको प्रशंसा गर्नुभयो ।

मुख्यमन्त्री पोखरेल, सहायक महासचिव कान्नीसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय परिसरमा वृक्षारोपण गरेको छ । साङ्केतिक रुपमा गमलामा रोपिएका बिरुवा उपयुक्त ठाउँमा सारेर चौतारी निर्माण गरिने पर्यटन मन्त्री कँडेलले जानकारी गराउनुभयो ।  

सहायक मन्त्रीसहितको टोलीले बिहीबार पोखराको सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय लगायत स्थानको अवलोकन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button