तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग मन्त्रीसँग स्पेन र इन्डोनेशीयाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि स्पेनका गैर आवासीय महामहिम राजदूत H.E. Mr. Jose Maria Ridao Domingeuz र नेपालका लागि इन्डोनेशीयाका राजदूत H.E. Heru Hartanto Subolo ले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभयो ।

छलफलमा नेपालका लागि स्पेनका गैर आवासीय महामहिम राजदूत H.E. Mr. Jose Maria Ridao Domingeuz ले विगतदेखि नै नेपाल र स्पेनबिचको सम्बन्ध प्रगाढ रहँदै आएको स्मरण गर्नुहुँदै ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्धन लगायत विषयमा दुई देशबिच थप सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा मन्त्री बडूले नेपालका लागि गैर आवासीय राजदूतमा नियुक्त हुनुभएकोमा बधाई दिनुहुँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । साथै स्पेनले कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि प्रशंसा गर्नुहुँदै यस प्रकारको सहयोगले दुई देशका सरकारबिच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो।

त्यसैगरी नेपालका लागि इन्डोनेशीयाका गैर आवासीय राजदूतसँगको भेटमा नेपाल र इन्डोनेशीयाबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री बडूले नेपाली वस्तु तथा सेवाहरू निर्यात गर्ने देशहरूमध्ये इन्डोनेसिया तेस्रो ठूलो देश भएकोले दुवै देशसँग व्यापार र लगानीको क्षेत्रमा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको बताउनुभयो।

महामहिम राजदूतले आगामी अक्टोबरमा इन्डोनेसियामा हुन लागेको विश्व स्तरीय ट्रेड एक्स्पो २०२२ मा नेपालका निजी क्षेत्रसहितको नेतृत्व गर्दै माननीय मन्त्रीज्यूको सहभागिता हुने अपेक्षा गर्नुहुँदै यसले दुई देशबिच व्यापार प्रवर्द्धनका साथै विश्वका अरू मुलुकसँग पनि वस्तु तथा सेवा विस्तारमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव, सम्बन्धित क्षेत्र हेर्ने सहसचिव लगायत कर्मचारीहरूका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button