तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर । प्रदेश १ सरकारले आज बसेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको तर्फबाट बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधार विकास जस्ता कार्यक्रमलाई महत्त्व दिइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै प्रदेश प्रमुख खापुङले सीमित साधन श्रोतका बाबजुद प्रदेश सरकारले उल्लेखनीय काम गरेको भन्नुहुँदै कोभिड नियन्त्रण, रोकथाम व्यवस्थापनमा प्रदेश सरकारले गरेको कामको सराहना गर्नुभयो ।

उहाँले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने, उन्नत जातको गुणस्तर बीउ तथा मलखाद सहज रूपले किसानलाई उपलब्ध गराउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको उहाँले उल्लेख गर्नुभयो ।

एक पालिका, एक उत्पादन कार्यक्रमलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै निजी क्षेत्रका लागी उद्योगमैत्री वातावरण, वृहद लगानी सम्मेलन, एक घर एक उद्यमी, तथा प्रादेशिक श्रमिक नीतिको अवधारणालाई कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा वृहद विराट क्षेत्रको अवधारणा तथा विराटनगरमा चक्रपथको निर्माण, विराटनगर, इटहरी तथा धरानजस्ता ठुला सहरलाई आधुनिक सहर बनाउने, एकीकृत बस्ती व्यवस्थापन, विराटनगरस्थित सिघिया तथा केशलिय खोलामा कोरिडोर निर्माण गुणस्तर खानेपानीको लागी एक घर एक धारा, आगामी दुई वर्षभित्र प्रदेश १ का सबै घरमा विद्युत सेवा उपलब्ध गराउने जस्ता विषयलाई नीति तथा कार्यक्रममा उल्लेख गरिएको प्रदेश प्रमुख खापुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button