तपाईँ सुन्दै हुनुहुन्छः

पाँच दलीय गठबन्धन अगामी चुनावसम्म रहने : अध्यक्ष यादव

जनकपुरधाम  । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धन अगामी प्रदेश तथा सङ्घीय चुनावसम्म कायम रहेको बताउनुभएको छ । 

अध्यक्ष यादवले प्रेस मञ्च नेपाल धनुषाद्वारा आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी आए आफूहरूले स्वागत गर्ने बताउनुभयो । 

उहाँले फुट कसैका लागि ठिक नभएको स्थानीय तहको निर्वाचन परिणामले नै पुष्टि गरेको बताउँदै मधेसको माग सम्बोधन गराउनका लागि लोसपासँग पार्टी एकता गर्नका लागि आफूहरू तयार भएको बताउनुभयो । 

जसपाका अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीका कारणले निर्वाचनमा अनेकन् विकृतिहरू देखा परेको बताउँदै विश्वका ७१ भन्दा बढी राष्ट्रहरूमा लागु भएको समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त भएको बताउनुभयो । 

उहाँले जन्मसिद्ध नागरिकता भएकाहरूको सन्तानलाई अविलम्ब रुपमा नागरिकता प्रदान गरेर सबैलाई मतदाता नामावलीमा नाममा समावेश गराउनु पर्ने धारणा राख्नुभयो ।

अध्यक्ष यादवले मधेसको जनसङ्ख्या ५३ प्रतिशत भएकाले अहिलेको निर्वाचन क्षेत्रको पुनर्संरचना गरेर मधेसमा निर्वाचन क्षेत्र बढाउनका लागि जोडदार माग गर्दै सङ्घीयताको सफल कार्यान्वयनका लागि सङ्घीय निजामती ऐन चाँडोभन्दा चाढो पारित गरेर लागु गर्नुपर्ने बताउनुभयो । 

उहाँले एक महिनासम्म मुलुकमा निर्वाचनको प्रक्रिया चल्नु कुनै पनि दृष्टिकोणले ठिक नभएको बताउँदै निर्वाचन प्रणालीमा भएको त्रुटिलाई सम्बोधन गर्दै छोटो प्रक्रिया मार्फत चुनाव गराउनका लागि आग्रह गर्नुभयो । 

नेपाल प्रेस मञ्चका अध्यक्ष अर्जुन मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पूर्व मन्त्री रामनरेश राय, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगरप्रमुख लालकिशोर साह र जसपाका जिल्ला अध्यक्ष पशुपति यादव सहितका नेताहरू उपस्थित रहनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button