राष्ट्रिय क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले चोटका कारण पहिलो खेल नखेल्ने
काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले चोट बोकेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार ओपनर आसिफ र कुशलले खुट्टाको चोट बोकेको जनाएको छ । चोट बोकेपछि दुवैले सिरिज अन्तर्गतको पहिलो खेल गुमाउने भएका छन् । विकेटकिपर समेत रहेका आसिफले नेपाली अलस्टारविरुद्दको अभ्यास खेलमा चोट बोकेका थिए । कुशलले समेत पहिलो अभ्यास खेलमै फिल्डिङ दौरान चोट बोकेका थिए ।
क्यानले आसिफ र कुशलको स्थानमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेललाई टोलीमा बोलाइएको जनाएको छ । नेपालको प्रशिक्षणमा टिमसँग रहेको र क्याम्पमा उनले उत्कृष्ट प्रदर्शन देखाएको सुवासलाई टिममा डाकिएको क्यानले जनाएको छ । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ । लिग टु को अङ्क तालिकामा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।







प्रतिक्रिया राख्नुहोस्