तपाईँ सुन्दै हुनुहुन्छः

खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल न्यून

सोलुखुम्बु । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र अहिले सुनसान बनेको छ ।

पर्यटकीय ‘सिजन’मा भरिभराउ विमानस्थल, होटेल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् ।

हिमाल आरोहणको समेत सिजन भएकाले सबैभन्दा बढी पर्यटकको आवागमन हुने यस सिजन सकिन लाग्दा खुम्बु क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटनको मध्य ‘सिजन’मा एकै पटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौ परेका यहाँका होटेल व्यवसायीहरूलाई समेत यतिखेर भने फुर्सद मिलेको स्थानीय होटेल व्यवसायी याङजी शेर्पाले बताउनुभयो ।

‘सिजन’मा आवतजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सीमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । सिजन सकिएसँगै यतिखेर खुम्बुवासी पूजापाठमा व्यस्त रहेको उनको भनाइ छ ।

यस क्षेत्रका नागरिकहरूको मुख्य आम्दानीको स्रोत नै पर्यटन व्यवसाय भएकाले ‘सिजन’ सकिएसँगै उनीहरू फुर्सदिला बनेका हुन् ।

‘सिजन’मा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर, भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरूको विशेषता जस्तै बनेको छ । खुम्बु क्षेत्रमा अङ्ग्रेजी महिनाको मार्च दोस्रो साताबाट सुरु हुने पर्यटकीय ‘सिजन’ मे अन्तिम साताबाट कम हुँदै जाने स्थानीय बताउँछन् ।

‘सिजन’मा दैनिक सात सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक नगण्य मात्रामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय बताउनुभयो ।

पर्यटकको आवागमन न्यून भएसँगै निकुञ्ज चेकपोस्टका कर्मचारीहरू पनि केही फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button