जनभावना अनुसार काम गर्न जनप्रतिनिधिलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरूसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गर्नुभएको छ ।
मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रवार बिहान अर्थ मन्त्रालयमा भेट गरी अन्तरक्रिया गर्नुभएको हो । सो अन्तरक्रियामा रुकुम पश्चिमका नगरपालिका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यलगायतको उपस्थिति थियो ।
जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिका भित्रका स्थानीयलाई ठुला कामको सपना नदेखाउन आग्रह गर्नुभयो । ‘तपाईँहरूले स्थानीय जनतालाई ठुला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उहाँले भन्नुभयो, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरू पुरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’

उहाँले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठुला परियोजना प्रदेश र सङ्घले बनाउने पनि जानकारी दिनुभयो । पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उहाँले निर्देशन दिनुभयो । ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् । तपाईँहरू (जनप्रतिनिधि) पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।’
सङ्घ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्याङ्कन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पुरा गर्न उहाँले निर्देशन दिनुभयो । त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन उहाँले सुझाव दिनुभयो ।
मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरूलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीहरूसँग छलफल गर्न, जनप्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सो भन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।
छलफलमा जनप्रतिनिधिहरूले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकतालगायतका बारेमा जानकारी गराएका थिए ।








प्रतिक्रिया राख्नुहोस्