जनकपुरधाममा ४ वटा सफाइका नयाँ टिपर सञ्चालन
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख मनोज कुमार साहको सक्रियतामा आजदेखि ४ वटा सफाइका नयाँ टिपर सञ्चालनमा ल्याइएको छ ।

निर्वाचित भएपछि सफाइलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गर्नुभएका मेयर साहले टाटा कम्पनीका ४ वटा टिपर सञ्चालनमा ल्याउनुभएको हो । पहिला नै टेन्डर भएर आएका टिपरहरूको आज पूजापाठ गरेर भोलिबाट सञ्चालनमा ल्याइने छ ।
९५ लाख ८० हजारको लागतमा उक्त टिपर खरिद भएको स्टोर शाखाका प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद यादवले जानकारी दिनुभयो । ६ वटा सफाइका ट्र्याक्टर खरिद प्रक्रियामा रहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

सफाइका लागि भोलिदेखि नै जनकपुरधामको फोहर सङ्कलन तथा व्यवस्थापनमा टिपर सञ्चालन हुने बताउँदै नगर प्रमुख साहले ऐतिहासिक तथा धार्मिक महत्त्वको जनकपुरधामको पर्यटन प्रवर्द्धनका लागि सफाइलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले काम थालेको बताउनुभयो ।
उहाँले जनकपुरधामका सबै वडामा सफाइको अधिकार वडाध्यक्षहरूलाई दिने गरी ट्र्याक्टर सहितका सफाई कर्मचारी एवं बजेट अगामी आर्थिक वर्षबाट दिइने पनि जानकारी दिनुभयो । अहिले आर्थिक वर्ष समापनको अवस्थामा रहेको र बजेट पनि पहिला नै सकिने भएकाले २५ वडाका लागि ट्र्याक्टर खरिद गरेर दिने निर्णय आफूले पहिला नै गरेको साहले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्