कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न नगर प्रमुखद्वारा निर्देशन

लहान । कार्यपालिकाको बैठकबाट भएको निर्णय यथाशीघ्र कार्यान्वयन गराउन नगर प्रमुख महेश प्रसाद चौधरीले सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
सिरहाको लहान नगर कार्यपालिकाको आज बसेको पहिलो बैठकबाट ११ वटा निर्णयहरू गरेको छ । नगरलाई हिलो मुक्त बनाउन हिलो भएको ठाउँहरूमा तत्काल ग्राभेल हाल्ने, तराई मधेसमा पछाडि परेको समुदाय अन्तर्गत पर्ने मुसहर समुदायलाई किरिया खर्च बापतको लागि ५ हजार सहयोग गर्ने, कोरोना सङ्क्रमणले पीडित भएका परिवारलाई १० हजारको दरले १५ सय ५४ जनालाई राहत वितरण गर्ने, ध्वनि प्रदूषण रोक्न डिजे साउण्ड बन्द गर्ने, कक्षा ६ देखि १२ सम्मका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउन खरिद प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको प्रमुख चौधरीले बताउनु भयो ।
त्यसैगरी वर्षाको कारण स्थानीयवासीलाई आवतजावत गर्न कठिनाइ भोग्नु परिरहेको भोटियाटोल–सितापुर र लहान१६ स्थित गोविन्दपुर देखि भसुवा, भमरे, काभ्रे स्थानसम्मको सडक मर्मत तत्काल गर्ने निर्णय भएको छ ।
लहान नगरपालिकामा दुई वटा नगरबस रहेकोले नगरबस सेवा निजी क्षेत्रलाई भाडामा लगाई बजारसँग जोड्ने ग्रामीण एरियाहरूमा सञ्चालन गर्ने । त्यसमा रुट र भाडा दर नगरपालिकाले निर्धारण गर्ने जनाएको छ । जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता र नागरिकता सिफारिसमा लाग्ने दस्तुर निःशुल्क गर्ने लगायतका निर्णय गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्