तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माणको काममा राजनीतिक गर्नु हुन्न : नेता निधि

जनकपुरधाम । नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले विकास निर्माणको काम सबैका लागि साझा विषय भएकोले यसमा राजनीति गर्न नहुने बताउनुभएको छ ।

उहाँले जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै जनकपुरधामको विकास निर्माणमा सबै निर्वाचित प्रतिनिधिहरू मिलेर काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले जनकपुरधाम ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक नगर भएकाले यस ठाउँको विकासका लागि भारतको ठुला सहरसँगै नेपालको सोलुखुम्बुको लुक्ला, भिमेश्वर महादेव स्थानसँग सडक सञ्जालसँग जोड्नका लागि गृहकार्य गर्न नव निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्दै यसमा नेपाली काँग्रेस नेतृत्वको सरकारको पूर्ण साथ रहने बताउनुभयो । 

नेता निधिले नेपाली काँग्रेस छाडेर विभिन्न दलहरूमा जानुभएका नेता तथा कार्यकर्ताहरूलाई पुनः मातृ पार्टी काँग्रेसमा फर्किनका लागि आग्रह गर्नुभयो । 

उहाँले जनकपुरधामको विकासका लागि सरसफाइका लागि ल्याण्डफिल साइटको निर्माण तथा बाह्य चक्रपथको निर्माण ध्यान दिनका लागि आग्रह गर्दै जनकपुरधाम प्रदेशको स्थायी राजधानी भएकाले यसको क्षेत्रफल विस्तार वैज्ञानिक तरिकाले गर्नका लागि सुझाव दिनुभयो ।

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जनकपुरधामको विकास तथा सौन्दर्यीकरणको काममा प्रदेश सरकारको पूर्ण साथ एवं सहयोग रहने बताउनुभयो ।  

नव निर्वाचित नगरप्रमुख मनोज कुमार साहले नगरपालिकाको थप विकासका लागि व्यवस्थित ल्याण्डफिल साइटको निर्माण, बाह्य चक्रपथको निर्माण तथा जनकपुरधामलाई भौतिक रुपमा सुविधा सम्पन्न राजधानी बनाउने उद्देश्यका साथ कामकाज गर्ने बताउनुभयो । 

उहाँले अहिले जनतामाथि थुपारेको ५ सय गुणा बढीको करको प्रतिशत घटाएर जनतालाई थप बोझ नपर्ने गरी करको दायरा बढाई उपमहानगरको आम्दानी दुई वर्षमा दुई गुणाले वृद्धि गर्ने बताउनुभयो ।

कार्यक्रममा नव निर्वाचित उपमेयर किशोरी साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्याय नगरको विकास आम जनताको चाहना अनुसार हुने बताउनुभयो । 

शपथ ग्रहण कार्यक्रममा नगरप्रमुख साहले उपप्रमुख किशोरी साहसहित विभिन्न वडाका अध्यक्षहरूलाई शपथ ग्रहण गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button