तपाईँ सुन्दै हुनुहुन्छः

दुहबी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा पद तथा गोपनीयताको शपथ

सुनसरी । दुहबी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई नगरप्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ  । 

दुहबी नगरपालिकाको सभा हलमा आज भएको कार्यक्रममा नगरप्रमुख वेद नारायण गच्छदारले नगर उपप्रमुख मेनुका खतिवडा, वडाध्यक्षहरू र वडा सदस्यहरूलाई समेत शपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख गच्छदारले दुहबीका सम्पूर्ण जनप्रतिनिधिहरू समानताको सिद्धान्त बोकेर एक भई नागरिकको भावना अनुसारको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले हामी सबै सम्पूर्ण दुहबीवासीको जनप्रतिनिधि भएकाले दुहबी नगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण नागरिकहरूको लागि समृद्धि र विकासका लागि आधारभूत स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, विभेदिकरणको अन्त्य, लैङ्गिक हिंसाको अन्त्य लगायतका कार्यहरू गरिरहने जनाउँदै पहिलो बैठकले थप पाँच बुँदे निर्णय गरेको जानकारी दिनुभयो ।  

सुनसरीको दुहबी नगरपालिकाका मेयर–उपमेयरले आजदेखि पदभार ग्रहण गरी पहिलो बैठकले पाँच बुँदे निर्णय सार्वजनिक  गर्नुभएको छ ।     

सुनौलो १ हजार दिनका आमाहरूलाई पोषण प्रवर्द्धन प्रोत्साहन स्वरूप रु  सयमा रु ५ सय थप गरी जम्मा रु १ हजार रकम दिने, लैङ्गिक हिंसा अन्त्य गर्ने प्रयोजनका लागि लैङ्गिक हिंसा निवारण कोषमा रु ५लाख थप गर्ने निर्णय गरेको छ ।   

यस्तै, पालिकाका दलित विपन्न परिवारलाई दाहसंस्कार लागि रु.५ हजार प्रदान गर्ने, नगरवासीलाई खानेपानी व्यवस्थापनको लागि साझेदारीमा डीप बोरिङ गरी खानेपानीको समस्यालाई समाधान गर्ने, नगरको फोहोर व्यवस्थापनको लागि गरिएको फोहोर व्यवस्थापन सम्बन्धी कार्यलाई स्वीकृत गरी आगामी कार्यपालिका बैठकमा अनुमोदनका लागि पेस गर्ने निर्णय गरेको गरेको छ ।

१२ वटा वडा रहेको दुहबी नगरपालिकामा ८ वडाध्यक्षसहित नगरप्रमुख, उपप्रमुखमा नेपाली काँग्रेसले जितेको छ भने ४ वडाध्यक्ष नेकपा एमालेले जितेको छ ।

कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button