तनहुँका पाँच जनप्रतिनिधि दोस्रो पटक निर्वाचित, १५ नयाँ अनुहार

तनहुँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष पाँच जना मात्र हुनुहुन्छ ।
तनहुँको व्यास नगरपालिकाका प्रमुख र ऋषिङ गाउँपालिकाका अध्यक्ष यस पटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
त्यसैगरी भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
जिल्लाको व्यास नगरपालिकाका यसअघिका प्रमुख यसपालि पनि दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
प्रमुखमा वैकुण्ठनाथ न्यौपानेलाई यो सफलता प्राप्त भएको छ । उहाँले नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुभएको छ ।
त्यसैगरी ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा दोस्रो पटक निर्वाचित हुनुभएको ।
वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दुवै जना निर्वाचित हुनुभएको थियो । उहाँहरू नेपाली काँग्रेसका उम्मेदवार हुनुहुन्छ ।
यस्तै, भिमाद नगरपालिकाकी उपप्रमुखमा शारदा खनाल यसपालि समेत दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ । यस्तै म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा पुनः बालकृष्ण घिमिरे विजयी हुनुभएको छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार हुनुहुन्छ ।
यसअघिका ४ प्रमुख÷अध्यक्षले यस पटकको प्रतिस्पर्धामा पराजित हुनुपर्यो । त्यस्तै उपप्रमुख/उपाध्यक्षमा एक कार्यकाल बिताएर यसपालि पनि प्रतिस्पर्धाको अवसर पाएका १ जना पनि चुनाव जित्न असफल हुनुभएको छ ।
म्याग्दे गाउँपालिकाको अध्यक्षमा काँग्रेसकी उम्मेदवार मायादेवी माया, बन्दिपुर गाउँपालिकाको अध्यक्षमा माओवादीका पूर्ण सिंह थापा, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका गिर बहादुर थापा र देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्ग बहादुर थापा यस पटकको चुनावी प्रतिस्पर्धामा पराजित हुनुभयो ।
यस्तै बन्दिपुर गाउँपालिकाको उपाध्यक्षमा करुणा गुरुङ पनि दोस्रो पटक अवसर पाएर पनि चुनाव जित्न असफल हुनुभयो । उहाँ यसपालि आफ्नो प्रतिस्पर्धीसँग जम्मा २ मतले पराजित हुनुभयो ।
जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष समेत निर्वाचित हुने २० सङ्ख्यामा १५ जना नयाँ अनुहार आउनुभएको छ ।
भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, शुक्लागण्डकी नगरपालिकामा कृष्णराज पण्डित र उपप्रमुखमा खुम बहादुर विक, व्यास नगरपालिकाको उपप्रमुखमा इन्दिरा दरै नयाँ अनुहार हो ।
यस्तै, म्याग्दे गाउँपालिकामा श्रीप्रसाद श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा र उपाध्यक्षमा पन्चमाया गुरुङ, घिरिङ गाउँपालिकाको अध्यक्षमा होम बहादुर थापा र उपाध्यक्षमा राधादेवी अधिकारी, देवघाट गाउँपालिकाको अध्यक्षमा तिल बहादुर थापा र उपाध्यक्षमा भुवन सिंह गुरुङ नयाँ अनुहार हुनुहुन्छ ।
निर्वाचितमा दलगत प्रतिनिधित्व हेर्दा प्रमुख/अध्यक्ष पदमा ५ नेपाली काँग्रेसले पाएको छ । त्यसैगरी नेकपा एमालेले ४, नेकपा (माओवादी केन्द्र)ले एक जितेको छ ।
त्यस्तै, उपप्रमुख÷उपाध्यक्षमा नेपाली काँग्रेसले ५, नेकपा माओवादी केन्द्रले ३, नेकपा एमालेले २ जना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका ८५ वडाका अध्यक्षमा सबैभन्दा बढी काँग्रेसले ४६ मा जित हात पारेको छ । एमालेले २८, माओवादीले ७ र ४ वडामा स्वतन्त्र उम्मेदवार विजयी बहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्