जनादेशको सम्मान गर्दै संसद्को गतिरोध अन्त्य : पूर्व मुख्यमन्त्री पोखरेल

रुपन्देही । ११ महिनादेखि अवरुद्ध लुम्बिनी प्रदेश सभाको गतिरोध अन्त्य भएको छ ।
प्रदेशसभाको १० औँ अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता शङ्कर पोखरेलले जनादेशको सम्मान गर्दै एमाले एक कदम पछि हटेर संसद्को गतिरोध अन्त्य गरेको बताउनुभयो ।
लामो समयसम्म संसद् अवरुद्ध हुँदा जनतामा नराम्रो सन्देश जाने भएकोले एमालेले जनादेशको सम्मान गर्दै संसद्को गतिरोध अन्त्य गरेको उहाँले बताउनुभयो । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रदेश सरकार र सभामुख त्यति गम्भीर नदेखिएको उहाँको आरोप थियो ।
प्रदेशको स्थायी राजधानीको व्यवस्थापनमा पूर्वाग्रहले निर्माणको कामले गति लिन नसकेको भन्दै पोखरेलले गुरुयोजना अनुसार राजधानीको पूर्वाधार निर्माण गर्न आग्रह गर्नुभएको थियो । उहाँले संसदीय समितिलाई प्रभावकारी बनाउँदै सरकारका काम कारबाहीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
मङ्गलवारको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको छ ।
प्रदेशसभाको अर्को बैठक बुधवार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्