तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा मतगणना रोकियो  

पोखरा । पोखरा महानगरको मतगणना रोकिएको छ । पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ वटा कम भएपछि नेकपा एमालेले महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मतगणना स्थलबाट बाहिरिएपछि मतगणना रोकिएको हो । 

उक्त वडामा ४ हजार ३४८ मत खसेकोमा ४ हजार ३३९ मतगणना भएको थियो । त्यसमा ९ मत हराएपछि पुनः मतगणनाको माग एमालेले गरेको छ । ९ मत कता हरायो भन्ने यकिन भएको छैन ।  उक्त वडामा एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कल बहादुर थापा काँग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित हुनुभएको छ ।

नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button