तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : आठ अध्यादेश स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न आठ वटा अध्यादेशहरू सर्वसम्मतिले स्वीकृत भएका छन् । 

बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नुभएको सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सर्वसम्मतिले स्वीकृत भएको छ ।

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्ताव पनि सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो  । 

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेस गर्नुभएको औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ लाई पनि सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । 

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पेस गर्नुभएको “रेल्वे अध्यादेश, २०७८ पनि  सर्वसम्मतिले स्वीकृत भएको छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा(कोइराला)को तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले पेस गर्नुभएको फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ  ।

यसअघि विशेष समयमा बोल्दै सांसदहरुले र बलात्कार सम्बन्धी मुद्दामा हदम्याद राख्न नुहुने बताउनुभयो । 

सांसदहरुले मुलुकमा यौन हिंसा र बलात्कारजन्य घटना बढ्दै गएको भन्दै  वर्तमान कानुनलाई तत्काल संशोधन गरी पीडितलाई  न्याय दिलाउने गरी कडा कानुन  बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थको मूल्य बुद्धि र बढ्दो महँगी न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १० गते अर्थात् भोलि साँझ ६ः०० बजे बस्ने छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button