तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कारको मुद्दामा हदम्याद नराख्न सांसदहरूको माग

काठमाडौँ । बलात्कारको मुद्दामा हदम्यादको व्यवस्था हटाउन सांसदहरुले माग गर्नुभएको छ  ।

आज सिंहदरबारमा बसेको संसद्को  महिला तथा सामाजिक समितिको बैठकमा सांसदहरुले बलात्कारको अपराधबाट पीडितले जुनसुकै समयमा पीडित भएको खुलासा गरे पनि पीडकलाई कारबाही गर्न सक्ने गरी कानुन बनाउन अधिकांश सांसदहरुले माग गर्नुभएको हो  । 

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बलात्कारको मुद्दामा हदम्याद राख्न नहुने बताउनुहुँदै त्यस प्रकारको कानुन निर्माणका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बैठकमा गृह सचिव टेकनारायण पाण्डेले सौन्दर्य प्रतियोगिताका नाममा सहभागी युवतीमाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले आज अदालतमा पेस गर्न लागेको जानकारी गराउनुभयो ।

उहाँले विद्यमान बलात्कारको कानुनमा हदम्यादको व्यवस्था भएकाले उक्त मुद्दामा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत मुद्दा चलाउन लागिएको पनि जानकारी दिनुभयो । 

२०७१ सालमा भएको बलात्कारको घटनालाई युवतीले ८ वर्षपछि केही दिनअघि टिकटकबाट सार्वजनिक गरेपछि  जेठ ७ गते पाण्डेलाई पक्राउ गरेको थियो  ।

समितिले महिलामाथि हुने हिंसाका घटनाका सम्बन्धमा बनेका कानुनहरू समयानुकूल हुने गरी तत्काल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । 

त्यसैगरी सौन्दर्य प्रतियोगिताका नाममा महिलामाथि विभिन्न खाले शोषण भएका घटनाहरू सार्वजनिक हुने गरेकाले त्यस्ता प्रतियोगितालाई व्यवस्थित गर्ने गरी नियम बनाउन पनि सरकारलाई निर्देशन दिएको समितिका सभापति निरुदेवी पालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button