तपाईँ सुन्दै हुनुहुन्छः

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आजपनि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी छ । 

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि औद्योगिक क्षेत्रको विकास गर्न ठोस कार्यक्रम बजेटले समेट्नुपर्नेमा जोड दिनुभयो । 

सत्तापक्षका प्रमुख दल नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले सरकारले अबको दश वर्षभित्र कपडा, जुत्ता, निर्माणका सामग्री, कृषि क्षेत्र, वन पैदावार, हस्तकला लगायतका क्षेत्रको विकासका लागि ठोस कार्यक्रम बनाई  यी क्षेत्रबाट उत्पादित सामानलाई निर्यात गरी व्यापार घाटालाई कम गर्न सकिने बताउनुभयो । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्र प्रसाद गौतमले अबको बजेटले जनताको जीवनलाई रूपान्तरण गर्ने विषयलाई समेट्नुपर्नेमा जोड दिनुभयो । 

सत्तापक्ष दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता समय सान्दर्भिक भएको भन्नुहुँदै आगामी बजेटले कृषि, उद्योग, पर्यटन क्षेत्र, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनमा वृद्धि, रोजगारीमा वृद्धि, स्वास्थ्य तथा सिपमूलक शिक्षा क्षेत्रमा महत्त्वका साथ अबको बजेटले समेट्दै विद्युतको बढी भन्दा बढी खपत नेपालमै गरी ग्याँसको आयात घटाउनुपर्नेमा जोड दिनुभयो  । 

प्रतिनिधिसभाको बैठक जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button