तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र नीति अध्ययन उपसमितिको म्याद थप

काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्र नीति अध्ययन उपसमितिको म्याद २ महिना थप गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक दीपकप्रकाश भट्टले कोरोना महामारी र स्थानीय तहको निर्वाचनलगायतका कारण उपसमितिले समयमा अध्ययन सम्पन्न गर्न नसकेकाले थप समय माग गर्नुभएको थियो । 

बैठकमा उपसमितिका संयोजक भट्टले नेपालजस्तो मुलुकले छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध थप सुधार गर्न परराष्ट्र नीतिका सम्बन्धमा घनिभूत छलफल गर्नु आवश्यक भएको बताउनुभयो । 

समितिको बैठकमा नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले आफ्नो अध्ययन प्रतिवेदन पेश गरेको छ । 

उपसमितिका संयोजक दिव्यमणी राजभण्डारीले बैठकमा प्रतिवेदन पेश गर्दै यस्तै गतिमा काम हुने हो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमा बन्न नसक्ने बताउनुभयो । 

त्यस्तै नेपालगन्ज र धनगढी विमानस्थललाई टुरिजम हवका रुपमा विकास गर्न पनि उपसमितिले सुझाव दिएको छ । 

उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक संशोधन गर्न पनि सुझाव दिएको छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले परराष्ट्र नीतिका सम्बन्धमा अध्ययन गर्न बनेको उपसमितिको म्याद २ महिना थप गर्ने र नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले तयार पारेको प्रतिवेदनमाथि आगामी बैठकमा विस्तृत छलफल गरिने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button