तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको दुई स्थानीय तहमा जनमत पार्टीका उम्मेदवार विजयी

सप्तरी । पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी भएको जनमत पार्टीले सप्तरीको दुई स्थानीय तहमा  कब्जा जमाएको छ। 

जनमत पार्टीले डा. सिके राउतको नेतृत्वमा एउटा नगरपालिका र एउटा गाउँपालिकामा गरी दुई स्थानीय तहमा विजयी हासिल गरेको हो । हनुमाननगर कंकालनी नगरपालिकाका वीरेन्द्र माझी र बलान-बिहुल गाउँपालिकामा खेमचन्द्र यादवले जनमत पार्टीबाट अध्यक्ष पदमा निर्वाचित भएका छन्।

हनुमाननगर कंकालनी नगरपालिकामा जनमत पार्टीबाट प्रमुख पदका उम्मेदवार माझीले ६ हजार ४०७ मत ल्याई जसपा नेपालका उम्मेदवार शैलेश कुमार साहलाई पराजित गर्नुभयो।  साहले कुल १९ हजार ३२४ मत मध्ये ६ हजार २४६ मत मात्र ल्याउन सके। जनमतका माझीले १ सय ६१ मत अन्तरले विजयी भएका हुन्।

नगरपालिकाको उपप्रमुख पदमा भने जनता समाजवादी पार्टीका सरिता देवी यादव सिपालियाले ६ हजार ५१२ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी जनमतबाट उम्मेदवार रहेकी रेखा देवी मण्डलले ५ हजार ९८२ मत मात्र ल्याउनुभयो ।

यसैगरी बलान-बिहुल गाउँपालिकामा जनमत पार्टीका खेमचन्द्र यादवले १ हजार ८ सय ५३ मत ल्याई गाउँपालिका अध्यक्षमा विजयी हासिल गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार अरुण कुमार गोइत (मुखिया जि) ले १ हजार ८ सय ३२ मत मात्र ल्याउनुभएको छ ।

गाउँपालिकाको उपाध्यक्ष पदमा जनमत पार्टीकै रेणु यादवले १ हजार ६ सय ६  मत ल्याई एमालेकी रिता कुमारी यादवलाई पराजित गर्नुभयो । एमालेकी यादवले १ हजार ५ सय ८४ मत ल्याउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button