राजनीतितर्फ पत्रकारको आकर्षण बढ्दो

काठमाडौँ । यस पटकको स्थानीय तह निर्वाचनमा पत्रकार एवं सञ्चारकर्मीहरूले पनि ठूलो सङ्ख्यामा उम्मेदवारी दिएका छन् ।
देशैभरका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घमा आबद्ध रहेका झण्डै ३ दर्जन पत्रकारले विभिन्न दलबाट उम्मेदवारी दिएको महासङ्घले जनाएको छ भने अहिलेसम्म मतगणनाको परिणाम अनुसार एक दर्जन भन्दा बढी पत्रकार निर्वाचित भएका छन् ।
छिनछिनमा राजनीतिक गतिविधिबारे जनतालाई सूचना प्रवाह गर्ने पत्रकार एवं सञ्चारकर्मीहरू यस पटकको निर्वाचनमा उम्मेदवार बनेर स्वयं प्रत्यक्ष राजनीतिमा ओर्लिएका छन् ।
विभिन्न दलबाट उम्मेदवारी दिएका मध्ये एक दर्जन बढी पत्रकारहरूले अहिलेसम्म जित हासिल गरिसकेका छन् । पत्रकारिता पेशामा रहँदा राजनीतिक चेतना बढेको र जनताका समस्या प्रत्यक्ष रुपमा देखेर समाचार बनाउँदै आएका पत्रकारहरू आगामी दिनमा ती समस्या स्वयं समाधान गर्न अग्रसर भएर उम्मेदवार बनेको बताउँछन् ।
प्रेस युनियनमा आबद्ध रहेका पत्रकारहरूमध्ये पनि झण्डै एक दर्जन बढीले विभिन्न पदमा उम्मेदवारी दिएको युनियनले जनाएको छ ।
प्रेस युनियन लुम्बिनी प्रदेश संयोजक रहनुभएका देवेन्द्र बर्माले प्युठान नगरपालिकाबाट उपप्रमुख पदमा जित हासिल गर्नुभएको छ भने प्युठानकै गौमुखी गाउँपालिकाको अध्यक्षमा विष्णुकुमार गिरी त्यसैगरी प्युठानकै झिम्रुक गाउँपालिकाबाट प्रमोद पोख्रेलले उपप्रमुख पदमा जित हासिल गर्नुभएको छ ।
त्यस्तै डोटीको शिखर नगरपालिकाबाट सुनिता रावल, आदर्श गाउँपालिकाको उपप्रमुखमा लक्ष्मी रोकाय लगायतले पनि जित हासिल गर्नुभएको नेपाल प्रेस युनियनका कार्यवाहक महासचिव भीष्म ओझाले जानकारी दिनुभयो ।
स्थानीय तहको विकास निर्माण र जनताका समस्या समाधानमा जनप्रतिनिधि चुकेको अनुभूति भएकाले त्यसको न्यूनीकरणका लागि आफू राजनीतिमा आएको नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश संयोजक समेत रहेर प्युठान नगरपालिकाको उपप्रमुखमा जित हासिल गर्नुभएका देवेन्द्र बर्माले बताउनुभयो ।
उहाँले हिजो जनताले भोगेका समस्या र गुनासोका समाचार अब लेख्न नपरोस् भन्ने उद्देश्यले आफु राजनीतिमा आएको बताउँदै त्यसतर्फ प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
यसैगरी पत्रकारितामा संलग्न रहेकामध्ये प्रेस चौतारी नेपालसँग आबद्ध रहेका झण्डै १ दर्जन पत्रकारहरूले उम्मेदवारी दिएको प्रेस चौतारी नेपालले जनाएको छ ।
प्रेस चौतारीमा आबद्ध भएका पत्रकारहरूमा चौतारीका पूर्वअध्यक्ष समेत रहनुभएका विरबहादुर गिरीले जाजरकोटको वारेकोट गाउँपालिबाट अध्यक्षमा जीत हासिल गर्नुभएको छ त्यस्तै बाजुरा बडिमालिका नगरपालिकाबाट अमर खड्का नगरप्रमुख र नन्दा थापा उपप्रमुखमा विजयी हुनुभएको छ । त्यसै नगरपालिकाबाट चौतारीका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका धर्मराज उपाध्यायले वडा नम्बर ७ को अध्यक्षमा जीत हासिल गर्नुभएको छ भने गुराँस गाउँपालिका दैलेखको वडा नम्बर ८ मा चौतारीकै दीपेन्द्र ओलीले अध्यक्ष पदमा जित हासिल गर्नुभएको छ ।
त्यस्तै चौतारीकै शान्ता आङ्बोहाङ्ले ताप्लेजुङबाट, गायत्री आचार्यले दोलखाको मेलुङ गाउँपालिकाबाट उपाध्यक्षमा जित हासिल गरिसक्नुभएको छ भने केही उम्मेदवारहरूको परिणाम आउन बाँकी रहेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
पत्रकारिता पेशामा रहँदा राज्यका नीतिगत तहमा देखिएका विकृति नहटाएसम्म पत्रकारिताको धर्म पुरा नहुने भन्दै त्यसलाई नीतिगत रुपमा कार्यान्वयन गर्नका लागि आफु राजनीतिमा लागेको प्रेस चौतारी नेपालसँग आबद्ध रहनुभएका बाजुराको बडिमालिका नगरपालिका प्रमुखमा विजयी हुनुभएका पत्रकार अमर खड्काले बताउनुभयो ।
उहाँले सबै नीतिको मूल नीति नै राजनीति भएकाले पत्रकारिता सँगसँगै राज्यका सबै तहमा हाम्रो उपस्थिति अनिवार्य रहेकाले पत्रकारिता पेशा छाडेर राजनीतितर्फ लागेको उल्लेख गर्नुभयो ।
यसैगरी प्रेस सङ्गठन नेपालमा संलग्न झण्डै आधा दर्जन पत्रकारहरू यस पटकको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेको प्रेस सङ्गठन नेपालले जनाएको छ ।
प्रेस सङ्गठन नेपालसँग आबद्ध पत्रकार गोर्खाको एक गाउँपालिका अध्यक्षमा एनपी बञ्जरा सहित अहिलेसम्म ३ जनाले जित हासिल गरेको र अन्य स्थानको परिणाम आउन बाँकी रहेको प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।
पत्रकारिता पेशामा रहेर संविधानको कार्यान्वयनका लागि खबरदारी गरिरहँदा कतिपय अवस्थामा राजनीतिक दलहरू चुकेका कारण त्यसको प्रभावकारी कार्यान्वयन गर्न आफु पत्रकारिता पेशा छोडेर राजनीतिमा लागेको प्रेस सङ्गठनमा आबद्ध रहेर सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष पदमा जित हासिल गर्नुभएका पत्रकार भोजराज कार्कीले बताउनुभयो ।
यसैगरी पत्रकारिता पेशामा संलग्नमध्ये स्थानीय तहमा उम्मेदवारी दिएर जित हासिल गर्नेहरूमा रेडियो नेपाल दिपायलमा कार्यरत सुनिता रावलले डोटीको शिखर नगरपालिकाबाट उपप्रमुख, जाजरकोटको वारेकोट गाउँपालिकाबाट वडाध्यक्षमा रेडियो नेपालका स्थानीय सम्वाददाता बद्री पन्त, त्यस्तै रेडियो नेपालमा थारु भाषाको समाचारवाचक रहिसक्नु भएका नरुलाल चौधरी घोराही उपमहानगर पालिकाको प्रमुख र रेडियो नेपालकै पूर्वकर्मचारी ईश्वर थापाले भक्तपुर सूर्यविनायक नगरपालिका वडा सदस्य पदमा जित हासिल गर्नुभएको छ ।
पत्रकारिता र राजनीति दुवै समाज विकासका पाटो रहेको भन्दै राजनीतिबाट अझ सशक्त ढङ्गले समाजको विकासमा लाग्न आफूले पत्रकारिताको सम्मान गर्दै राजनीतिमा लागेको डोटीको शिखर नगरपालिकाबाट उपप्रमुख पदमा जित हासिल गर्नुभएका रेडियो नेपालको पूर्व कर्मचारी सुनिता रावल बताउनुहुन्छ ।
संविधानले नै प्रत्येक नागरिकलाई राजनीति गर्ने र उम्मेदवार बन्न पाउने अधिकार दिएको छ । पत्रकारिता पेशापनि एउटा सामाजिक पेशा भएकाले राजनीतिमा जाने कुरामा असहमति नराखी पेशाबाट अलग भएर राजनीति गर्न पत्रकारहरूलाई महासङ्घले प्रेरित गरेको नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले बताउनुभयो ।
उहाँले राजनीति र पत्रकारिता एकसाथ गर्दा व्यावसायिक स्वच्छता नहुने भन्दै सामाजिक भूमिका र दायरालाई थप फराकिलो बनाउन पत्रकारहरु पनि राजनीतिमा लागेको बताउनुहुन्छ
विगतमा पनि पत्रकारितामा संलग्न व्यक्तिहरू राजनीतिमा नलागेका भने होइनन् । पत्रकारिता र राजनीति दुवै समाज विकासको कार्य हो तर राजनीतिमा रहेर पत्रकारिता गरिरहँदा स्वच्छ पत्रकारिता भने पक्कै हुन सक्दैन । त्यसैले पत्रकारितामा भविष्य नदेखेर नभई आफ्नो कर्मलाई समाज विकासमा थप सशक्त बनाउनका लागि पत्रकारहरूको पनि राजनीतितर्फ आकर्षण बढेको बुझ्न सकिन्छ ।







प्रतिक्रिया राख्नुहोस्