झापाको बाह्रदशीमा गठबन्धनलाई हराउँदै अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी

भद्रपुर।झापाको बाह्रदशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)–ले विजयी भएको छ । आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदमा एमालेका देविन्द्रप्रसाद चम्लागाई र उपाध्यक्षमा एमालेकी शान्तादेवी शिवाकोटी निर्वाचित हुनुभएको छ ।
बाह्रदशीमा नेपाली काँग्रेसको विरासत तोड्दै एमालेले कब्जा जमाएको हो ।अध्यक्ष पदमा चम्लागाईंले ७ हजार १४८ मतका साथ कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट काँग्रेसका खड्गप्रसाद राजवंशीलाई पराजित गर्नुभयो । राजवंशीले ४ हजार ३६१ मत प्राप्त गर्नुभयो । राजवंशी यसअघिका गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकी शिवाकोटीले ६६३६ मतका साथ राप्रपाकी कमला राजवंशीलाई २४४१ मतले पराजित गर्नुभयो । राजवंशीले ४१९५ मत ल्याउनुभएको छ ।योसँगै झापामा ४ वटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । यसअघि, कचनकवल, कनकाई र हल्दिबारीको नतिजा घोषणा भएको थियो ।
परिणाम अनुसार कचनकवलमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले, कनकाई नगरपालिकामा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस तथा हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राप्रपा विजयी भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्