तपाईँ सुन्दै हुनुहुन्छः

७७ हतियार मात्रै प्रहरीमा बुझाइएको रेकर्ड सार्वजनिक

बीरगंज । पर्सामा जिल्ला प्रशासन कार्यालयले गरेको आव्हान विपरीत निर्वाचनको समयमा इजाजत लिएर हतियार राख्नेहरूले ठूलो परिणाममा हतियार लुकाएको तथ्य सार्वजनिक भएको छ ।

स्थानीय प्रशासनको आह्वानपछि पनि जिल्लामा इजाजत लिएर हातहतियार राख्नेहरूमध्ये थोरैले मात्र आफ्नो हातहतियार प्रहरीलाई बुझाएका छन् ।

स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र विश्वसनीय बनाउनका लागि भनी इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले चैत १३ गते सूचना प्रकाशित गरी चैत मसान्तसम्मको समय सीमाभित्र हतियार बुझाउन निर्देशन दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार सोमबार सम्ममा ७७ वटा मात्र हतियार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूमा हतियार धनीहरूले बुझाएका छन् ।

पर्सामा ५ सय बढी इजाजत प्राप्त बन्दुक रहेकोमा ७७ वटा मात्र हतियार प्रहरी युनिटमा आइपुगेको बताउँदै इजाजत लिएर राखिने हतियारहरू स्वचालित तथा आधुनिक पेस्तोल नभई हर्नेट, सट गन जस्ता ठूला आकारका बन्दुक हुने गरेको डिएसपी खनालले बताउनुभयो ।

यस्ता बन्दुकको वर्षेनी जिल्ला प्रशासन कार्यालयबाट नवीकरण गर्नुपर्ने प्रावधान रहे पनि हतियार धनीहरूले रुचि नदेखाउँदा समस्या भएको छ ।

सर्वसाधारणले व्यक्तिगत सुरक्षाका लागि घरमा बन्दुक राख्ने चलन छ । विशेष गरी ग्रामीण भेगमा चोरी, डकैती, लुटपाट आदि हुने सम्भावना हुने भएकाले प्रतिकार तथा आत्मरक्षाका लागि इजाजत प्राप्त बन्दुक राख्ने चलन छ ।

यसैबिच स्थानीय प्रशासनले हतियार नबुझाउने हतियार धनीहरूलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button