तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी  पुरा 

कञ्चनपुर । कञ्चनपुरमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको  छ । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो  । 
निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचय पत्रलगायत  आवश्यक सामग्री सहित मतदान केन्द्रमा कर्मचारी खटाइएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिनु भएको छ । 

जिल्लाको नौ स्थानीय तहका ३ सय ४१ मतदान केन्द्रमा १ हजार ७ सय ५ जना कर्मचारी खटाइएका छन् । जिल्लामा १ सय ३२ मतदान स्थलमा ३ सय ४१ निर्वाचन केन्द्र रहेका छन् । 

सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित १०७५ जना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक निर्वाचन केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी ५ जना कर्मचारी खटाइएको छ । 

जिल्ला निर्वाचन अधिकृत जोशीका अनुसार सोमबार बाट निर्वाचनका लागी तयार पारिएका ३ सय ४६ पोका सम्बन्धित केन्द्रमा पठाउने कार्य भइरहेको छ । सोमबार जिल्लाको कृष्णपुर, पुर्नवास नगरपालिका, बेलौरी नगरपालिका , बेल्डाँडी र लालझाँडी गाउँपालिकामा निर्वाचन सामाग्री पठाइएको छ । यस्तै बिहीबार सुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधारामा निर्वाचन सामाग्री पठाइने निर्वाचन कार्यालयले जनाएको छ ।

जोशीका अनुसार स्वस्तिक छाप, मतपत्र, मतदाता नामावली, मतपेटिका, नउड्ने मसी, स्ट्याम्प प्याड, सुरक्षण, प्लास्टिकको छेकबार, टर्चलाइट, कैँची, ग्लुस्टिक, क्यालकुलेटर, टेबुल घडी, पन्चिङ मेसिन, स्टाइप्लर मेसिन, पिन, प्लास्टिक थैला÷बोरा, कार्टुन बक्स, टिनका बाकस लाहा, फाइल, फाइल फित्ता, कोरा कपडा, मैनबत्ती, सियो, धागो, कलम, मैनबत्ती, खामलगायत सामग्री निर्वाचन केन्द्रमा पठाइएको हो । 
जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अतिसंवेदनशील, संवेदनशील र सामान्य क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनु भएको छ । 

यहाँका १ सय ८४ अतिसंवेदनशील ७१ संवेदनशील र ८६ सामान्य मतदान केन्द्र रहेका र सोही अनुसारको सुरक्षा व्यवस्था तैनाथ गरिएको उहाँको भनाइ छ । जिल्लाको पुर्नवास नगरपालिकामा अत्यधिक ३२ मतदान केन्द्र अतिसंवेदनशील र ७ संवेदनशील रहेका छन् । 

शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन जिल्लामा तीन हजार बढी नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानबाट परिचालन जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button