तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रागिरिमा ५६ मतदान केन्द्र, ४७ हजार २६४ मतदाता

काठमाडौँ ।काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ५६ मतदान केन्द्र राखिने भएको छ । काठमाडौँ प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि २२ मतदानस्थलमा ५६ मतदान केन्द्र राखिने चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिनुभयो ।

चन्द्रागिरिमा ७७ पदका लागि ३५४ जनाले उम्मेदवारी दिनुभएको छ । जसमध्ये नगरप्रमुखमा २० र उपप्रमुखमा आठजनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । चन्द्रागिरि नगरपालिकाको स्थानीय निर्वाचनमा पाँच राष्ट्रिय राजनीतिक दल, १० जिल्ला तहका सङ्गठन र नौ स्वतन्त्र उम्मेदवारले भाग लिएका छन् ।

निर्वाचन अधिकृत थपलियाले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको बताउनुभयो । यस्तै, अब चाँडै नै मतदान अधिकृतका लागि तालिम प्रदान गर्ने निर्वाचन अधिकृत थपलियाले बताउनुभयो ।

काठमाडौँ जिल्लाको दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ र मच्छेगाउँ गाविस मिलाएर बनाइएको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।

उक्त नगरपालिका काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो । स्थानीय तह निर्वाचनका लागि उक्त नगरपालिकामा कूल ४७ हजार २६४ मतदाता रहेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाका तर्फबाट रोशन दानीले उम्मेदवारी दिनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट नगरप्रमुखमा उत्तमबहादुर राउत र उपप्रमुखमा वसन्ती श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button