लेखा परीक्षण मर्यादित र व्यावसायिक हुनुपर्छ: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखा परिक्षण हुनुपर्ने बताउनुभएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनमा मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक विमुख हुन नहुने धारणा राख्नुभयो ।

कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परीक्षकहरूलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
लेखा परीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उहाँले बताउनुभयो । “निजी, सरकारी, गैर–सरकारी सबै क्षेत्रमा लेखा परीक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ”, उहाँले भन्नुभयो, “लेखा परीक्षण व्यवसायमा अत्यन्तै इमानदारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।”
उहाँले वित्तीय अनुशासन कायम गर्न/गराउन लेखा परीक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले लेखा परीक्षण कुनै संस्था वा कम्पनीको हिसाबकिताबमा मात्रै सीमित नभई समग्र देशको सम्पत्ति मूल्याङ्कनमा पनि प्रयोग हुनुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले गरिबी न्यूनीकरणका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्ने बताउनुभयो ।
उहाँले अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ति, तराईको जमिन, देशभरका नदीमा बगेको पानी लगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा आई क्यानका अध्यक्ष युद्धराज ओलीले लेखा व्यवसायी सम्मेलन पहिलो पटक आयोजना भएको बताउनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनबाट राष्ट्रिय अर्थतन्त्रका विषयमा गम्भीर रूपले छलफल एवम् विचार विमर्श हुने उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्