दुर्घटनाका घाइतेहरू पैसा तिर्न नसक्दा अस्पतालमै बन्धक

वीरगंज । गत चैत्र १२ गते वीरगंजको नगवामा भएको दुर्घटनाका घाइतेहरू पैसा तिर्न नसक्दा डिस्चार्ज भएर पनि एस.एल.न्युरो अस्पताल वीरगंजमा बन्धक भएर बस्न बाध्य भएका छन् ।
४ जना घाइतेको उपचार खर्च बापत झण्डै १० लाख भन्दा बढी अस्पतालले पाउनु पर्नेमा सो पैसा नतिरेको कारण अस्पतालले बिरामीहरूलाई बन्धक बनाएर राखेको घाइते धुरेन्द्र राउत कुर्मीका दाजु सुरेन्द्र राउत कुर्मीले बताउनु भयो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा चोकमा गत चैत्र १२ गते एम्बुलेन्सको ठक्करबाट ई–रिक्सामा सवार १ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । ना २ ह २७६६ नम्बरको ई–रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले चैत्र १२ गते १२ बजे राति ठक्कर दिएको थियो ।
दुर्घटनामा ई–रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ वर्षीय परीक्षण राउत गम्भीर घाइते भएको र उपचारको क्रममा उनको नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा ई–रिक्सामा सवार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रामटोलकी ३१ वर्षीया काजल देवी, २५ वर्षीय धुरेन्द्र राउत कुर्मी, ४१ वर्षीया मन्जु देवी, १५ वर्षीय अनिकेत पटेल र १७ वर्षीया अंजली पटेलको नारायणी अस्पतालमा उपचार पछि एस.एल न्यूरो अस्पतालमा चैत्र १३ गते देखि उपचार भइरहेको र उनीहरुको उपचार वापतको रकम मौलापुर नगरपालिकाको एम्बुलेन्स रहेको हुँदा नगरपालिकाले व्यहोर्ने सहमति प्रहरी समक्ष भए पनि नगरपालिकाले घाइतेको उपचार खर्च नदिँदा अहिले घाइतेहरू निको भई डिस्चार्ज हुँदा समेत अस्पतालमै बस्न बाध्य भएको घाइते धुरेन्द्रका दाजु सुरेन्द्र राउत कुर्मीले बताउनुभयो ।
पीडितले ४ जनाले अस्पतालले घेरेर राखेको र ५ दिन पहिला उनीहरू डिस्चार्ज समेत भएको जानकारी दिँदै आफूहरू गरिब परिवार भएको हुँदा उपचार खर्च तिर्न नसक्ने हैसियतमा रहेको गुनासो गर्नुभयो ।
रौतहटको मौलापुर नगरपालिकाले दुर्घटना पछि मृतकको क्षतिपूर्ति र घाइतेका उपचारका बारेमा गरेको सहमति कार्यान्वयन नहुँदा पीडित पक्ष थप पिडामा परेको छ ।







प्रतिक्रिया राख्नुहोस्