भोजपुरमा चुनावी सरगर्मी बढ्दै
भोजपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ ।

दुई नगरपालिका र सात गाउँपालिका सहित ९ वटा स्थानीय तह रहेको भोजपुरमा आफ्नो पक्षमा परिणाम पार्नका लागि अहिले जिल्लास्थित राजनीतिक दल तथा कार्यकर्ताहरू मतदाताको घरघरमा पुग्न र प्रचारप्रसारमा व्यस्त छन् ।
सत्ता पक्षीय गठबन्धनका दलहरू विगतको निर्वाचन भन्दा बढी पालिका जित्ने दाउमा छन् भने प्रमुख प्रतिपक्षी पनि एमाले पनि बढी पालिका जित्ने कसरतमा सक्रिय छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी चुनावी अभियानमा व्यस्त छन् । कतिपय स्थानमा राप्रपा लगायतका दलहरूले समेत उम्मेदवारी दिएका छन् । पार्टीले टिकट वितरणमा मूल्याङ्कन नगरेको भन्दै केही ठाउँमा स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् ।
जिल्लाका ९ पालिका र ८१ वटा वडा गरी कुल ४ सय २३ जनप्रतिनिधि स्थानीय तहको निर्वाचनबाट चुनिने छन् ।
जिल्लाको कुल मतदाता सङ्ख्या १ लाख २५ हजार ९ सय २६ जना रहेको छ । निर्वाचनका लागि ८७ वटा मतदान स्थल र १ सय ६० वटा मतदान केन्द्र समेत निर्धारण गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्