आर्थिक र भौतिक पूर्वाधारको विकासमा गठबन्धनको जोड
काठमाडौँ । तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्यका साथ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा परिचालित भएको छ ।

त्यसका अलावा गठबन्धनको तर्फबाट पनि स्थानीय तहको अधिकतम परिचालन र अघिल्लो निर्वाचनमा भनिएजस्तै गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउने लक्ष्य राखिएको छ । जनताको घर–आँगनको सरकार भएकाले पनि स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्त्वका साथ केन्द्रमा राखिएको छ ।
गठबन्धनका तर्फबाट देशव्यापी रूपमा सार्वजनिक भएका घोषणापत्र र त्यसले सम्बोधन गर्न खोजेको विषयले पनि स्थानीय सरकार आफैँमा महत्त्वपूर्ण रहेको तथ्यलाई आत्मसात् गरिएको छ ।
माओवादीले ‘सामाजवादोन्मुख समृद्धिका लागि माओवादीको नेतृत्व’ भन्ने नाराका साथ आफ्ना उम्मेदवारलाई स्थानीय तहमा परिचालन गरेको छ । सङ्घीयता कार्यान्वयन भएपछि केन्द्रीय स्तरमा एकीकृत घोषणापत्र नबनाई स्थानीय तहमा नै घोषणापत्र बनाउने नीति माओवादीले पहिलो पटक कार्यान्वयनमा ल्याएको हो ।
“सङ्घीय निर्वाचन भएको भए केन्द्रीय स्तरमा नै घोषणापत्र बनाउनु आवश्यक हुन्थ्यो । यो त स्थानीय सरकारको निर्वाचन हो । जुन पालिकामा जुन खालको घोषणापत्र आवश्यक पर्छ, सोही आधारमा नै घोषणापत्र तय गरिएको छ”, माओवादीका प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो ।
गठबन्धनका तर्फबाट पोखरा महानगरपालिका, घोराही उपमहानगरपालिकामा साझा घोषणापत्र तयार पारेर निर्वाचन अभियानमा होमिइसकेका छन् । काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुर, चितवनको भरतपुर, वीरगञ्ज, विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट साझा घोषणापत्र तयार पारेर निर्वाचनमा केन्द्रित हुने तयारी छ ।
गठबन्धनले निर्वाचनका लागि संयुक्त निर्वाचन परिचालन कार्यालय, संयुक्त प्रचार टोली तथा आवश्यक तयारीका कामसमेत अगाडि बढाएका छन् । घोराही उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट अगाडि सारिएका उम्मेदवारको पक्षमा वडासम्म नै संयुक्त रूपमा परिचालित भएको काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको भनाइ छ ।
वडासम्म नै कांग्रेस, माओवादी र जनमोर्चाबिच तालमेल भएकाले प्रमुख, उपप्रमुखसहित वडासम्म नै संयुक्त रूपमा परिचालित भएको उहाँले जानकारी दिनुभयो । कांग्रेस र माओवादी केन्द्रले सर्वसम्मत उम्मेदवार छनोट गर्नु तथा एक ढिक्का भएर नेता कार्यकर्ता चुनाव प्रचारमा लाग्नुले गठबन्धनको जितप्रति कुनै शङ्का गर्न नहुने काँग्रेसकी नेतृ एवं सांसद अनिता देवकोटाको भनाइ छ ।
माओवादीले विशेष गरी जनक्रान्तिका उपलब्धिको रक्षा र सामाजिक न्यायसहित आर्थिक–सामाजिक रूपान्तरण नै समाजवादोन्मुख समृद्धिको सार भएको विषयलाई महत्त्व दिएको छ । सामाजिक न्यायसहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरण समाजवादोन्मुख समृद्धिका दुई मुख्य पिलर भएको माओवादीको ठहर छ ।
समाजवादको परम्परागत मोडेलप्रति उदासीन र बजारका एकाधिकारबाट पीडित हुँदै निराश र निमुखा बन्दै गएकाहरू समेत माओवादीको विकास मोडेलबाट नै समाजवादोन्मुख समृद्धि सम्भव छ भन्नेमा जनतामा समेत विश्वास पलाएर गएको ललितपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवार बाबुराजा बज्राचार्यको भनाइ छ ।
आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैङ्गिक समानता लगायत मौलिक हकको कार्यान्वयन गराउने विषयलाई गठबन्धनका तर्फबाट प्रमुख रूपमा उठाइएको छ ।
माओवादीले जनक्रान्तिको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि आफ्नो नेतृत्व वर्तमानको अपरिहार्यता भएको दाबी गरेको छ । त्यसका लागि ‘समाजवादोन्मुख समृद्धि: आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ भन्ने नारा तय गरिएको माओवादीले जनाएको छ ।
सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको ढाँचामा समाजवादोन्मुख समृद्धिको परिकल्पना गरिएको छ । नागरिकका आधारभूत आवश्यकता परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी अर्थव्यवस्थाको निर्माण, रोजगारीका अवसर सिर्जना, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि विकासका नीति र प्राथमिकता रहेको माओवादीका उम्मेदवारले आफ्ना घोषणापत्रमा समावेश गरेका छन् ।
समूह, सहकारी, परिवारमार्फत आम जनतालाई आर्थिक विकासको साझेदार बनाउने र प्रतिफलमा यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माण गर्ने आर्थिक विकासको केन्द्रीय सार भएको माओवादीले तयार पारेको घोषणापत्रको दिशानिर्देशमा उल्लेख छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार रहनुभएका रेणु दाहाल विगत पाँच वर्षमा गरेको भौतिक विकासलाई आर्थिक विकासको आधारसँग जोड्ने गरी यस पटकको निर्वाचनमा आफूहरू परिचालित भएको बताउनुहुन्छ ।
विकास–समृद्धि र सामाजिक न्यायको केन्द्रमा बहुसङ्ख्यक जनताको हित र प्रगति अन्तर्निहित रहने विषयलाई माओवादीले मात्रै नभई गठबन्धनले समेत आत्मसात् गरेको छ । घोराही उपमहानगरपालिकामा गठबन्धनले तयार पारेको साझा सङ्कल्पमा सोही विषयलाई केन्द्रमा राखिएको छ । स्थानीय तहको प्रभावकारितालाई बढाउँदै समाजवादोन्मुख समृद्धिको दिशामा अघि बढेको भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार दाहालको भनाइ छ । चितवनको भरतपुर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरमध्येको एक हो ।
नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर नेपालकै प्रमुख व्यापारिक केन्द्र समेत रहेकाले पनि आर्थिक विषयलाई प्राथमिकतामा राखिएको र सोहीअनुसारको काम भएको उल्लेख गर्दै उहाँले यस पटकको निर्वाचनमा पनि सोही विषयलाई जोड दिइएको बताउनुभयो ।
‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’को नारासाथ आफूहरू निर्वाचनमा केन्द्रित भएको कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट अध्यक्षको उम्मेदवार रहनुभएका गोपीलाल सिङ्तानको भनाइ छ । सङ्घ, प्रदेशबाट प्राप्त स्रोतको समुचित एवं प्रभावकारी परिचालनसहित स्थानीय अर्थतन्त्र निर्माण गर्दै समाजवादोन्मुख समृद्धिको कार्यक्रम लागू गर्न आफूहरूले अघिल्लो पाँच वर्षमा पनि प्रयास गरेको जानकारी दिँदै यस पटक गठबन्धनको तर्फबाट पनि सोहीअनुसारको कार्यक्रम तय गरिएको उहाँको भनाइ छ ।
नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय निर्वाचन संविधान कार्यान्वयनको अर्को पाटोका रूपमा रहेको छ । संविधानले नै समाजवादोन्मुख अर्थतन्त्र नेपालको आर्थिक आधारका रूपमा स्पष्ट पारेकाले आर्थिक सामाजिक रूपान्तरणलाई गठबन्धनले आफ्नो चुनावी कार्यक्रममा विशेष जोड दिएको छ ।
परिवर्तनको संवाहक शक्ति भएकाले पनि जनताको आर्थिक विकास र समृद्धिको चाहनालाई गठबन्धनले महत्त्व दिएको दाबी गरेको छ । राजनीतिक अधिकार प्राप्तिको सङ्घर्षबाट क्रमशः आर्थिक विकासको यात्रा अगाडि बढेकाले पनि आम जनताको सरोकारलाई ध्यान दिनै पर्ने बाध्यतामा राजनीतिक दल देखिन्छन् ।
अधिकांश उम्मेदवारले भौतिक पूर्वाधार विकाससँगै दिगो र दीर्घकालीन विकासको कार्यसूचीका साथ निर्वाचनमा होमिएका छन् । यसले राजनीतिकभन्दा पनि आर्थिक विषयलाई नै केन्द्रमा राखेको भन्ने कोणबाट पनि लिन सकिन्छ ।
पोखरा महानगरमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्यले सार्वजनिक गर्नुभएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, उद्यमशीलता, रोजगार तथा मानव संसाधन विकास, पूर्वाधार, पर्यटन, खेलकुद, सहरी स्वच्छता, नगरको सुशासनलाई प्राथमिकतामा राखिनु त्यसैको बलियो उदाहरण हो ।
गठबन्धनले पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । फेवातालबाट बेगनास ताल जोड्ने मेट्रोको अवधारणा, पोखरा चक्रपथको निर्माणसँगै मध्य पहाडी र सिद्धार्थ राजमार्ग जोड्ने बाइपास सडक, सेती नदीको सौन्दर्यीकरण, प्राचीन पोखराको संरक्षण, ल्यान्डफिल्ड साइट व्यवस्थापन, बसपार्क निर्माण लगायतका विषय आचार्यको घोषणापत्रमा समेटिएको छ ।
फेवातालबाट १० किलोमिटर दूरीमा रहेको बेगनास तालमा मेट्रो चलाउन सकिने बताउँदै आचार्यले यस कामका लागि ‘आफ्नो घर आफ्नो सहर आफैँ बनाऊँ’ भन्दै अघि बढ्ने रणनीति अगाडि सारिएको छ । मेट्रोसहित पोखराको समृद्धिका योजना सफल बनाउन बिदेसिएको जनशक्तिलाई ज्ञान, सीप र पैसा लिएर आउन समेत आग्रह गरिने गठबन्धनको घोषणापत्रमा उल्लेख छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्