तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई आज निर्वाचन चिन्ह प्रदान गरेको छ ।

file photo

निर्वाचनमा भाग लिन मनोनयन दर्ता गराएका १ लाख ५३ हजार २ सय २० जना उम्मेदवारमध्ये करिब ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको र बाँकी रहेका उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगका पूर्व निर्धारित कार्यतालिका अनुसार स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएको थियो भने हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह वितरण गर्ने लगायतको काम स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयले गर्ने हुनाले कति प्रकारका निर्वाचन चिन्हहरू वितरण भए भन्ने अन्तिम विवरण आउन बाँकी रहेको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

यसैबिच निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि विभिन्न ६४ जिल्लामा मतपत्र पठाइएको जनाएको छ ।

आज बेलुका सम्ममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश, १ नम्बर प्रदेश तथा वाग्मती प्रदेशका हिमाली जिल्लाहरू गरी ६४ जिल्लाका लागि मतपत्र पठाइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

यस्तै करिब ९४ प्रतिशत मतपत्रको छपाई सम्पन्न भएको र मतपत्र छाप्न बाँकी रहेका काठमाडौँ महानगरपालिका लगायतका स्थानीय पालिकाको मतपत्र छाप्ने काम सोमबार देखी सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button