तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशमा ‘वास’ कार्यशाला गोष्ठी सम्पन्न

सुर्खेत । खानेपानी, सरसफाइ र स्वच्छता (WASH) को महत्त्व उजागर गर्न र यससम्बन्धी एकिकृत योजना बनाउने उद्देश्यका साथ आज सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । खानेपानीमा जनताको पहुँच वृद्धि गर्ने, सरसफाईमा सचेत उपभोक्ता र स्वच्छ खानेपानीको अधिकारलाई सुनिश्चित गर्ने सम्बन्धमा सरोकारवालाबिच योजना तर्जुमा देखी नै महत्त्वपूर्ण भूमिका हुने भएकोले एकीकृत योजना तर्जुमामा आवश्यक सैद्धान्तिक र प्राविधिक ज्ञान आवश्यक छ भन्ने हेतुले कार्यशाला आयोजना गरिएको भौतिक योजना तथा सहरी विकास मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले जानकारी दिनुभयो ।

संविधानले प्रत्याभूत गरेको विषयलाई कार्यान्वयन गर्न सबै साझेदार निकाय, सरकारी एवं गैर सरकारी निकाय र दातृ संस्थाहरूले दोहोरोपना नआउने गरी योजना तर्जुमा र प्राथमिकीकरण गर्न सचिव कर्माचार्यले सुझाव दिनुभयो ।

अव्यवस्थित सहरीकरण, तीव्र जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न एकीकृत योजना बनाउनुपर्ने र स्थानीय तहले त्यसको स्वामित्व र अपनत्व लिन सकेको खण्डमा खानेपानी, सरसफाइ र स्वच्छताको विषयमा दिगो विकास लक्ष्यले लिएको उद्देश्य पुरा हुन सक्नेमा सहभागीहरूले जोड दिनुभयो ।

योजना छनोट र सुशासनलाई ध्यान दिएर कार्यक्रम गर्न सके योजनामा दोहोरोपना हटेर लक्षित वर्गले लाभ लिन सक्ने अवस्था सृजना गर्न आवश्यक रहेको भौतिक योजना तथा सहरी विकास मन्त्रालयका सचिव प्रेम दत्त भट्टले बताउनुभयो ।

‘वास’ योजना छनोट, प्राथमिकीकरण र यसको कार्यान्वयन एकद्वार नीतिबाट कार्यान्वयन हुन सके दोहोरोपना, थप आर्थिक व्ययभार कम हुन गई लक्षित वर्गले घोषित सेवा सही रूपले लिन सक्छन् भन्नेमा सबै सहभागीहरूको साझा बुझाई रह्यो ।

गोष्ठीमा कर्णाली प्रदेश सरकारका नि. प्रमुख सचिव आनन्द सारू, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्य, भौतिक योजना तथा सहरी विकास मन्त्रालयका सचिव प्रेम दत्त भट्ट, सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदी, खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर डा. रजित ओझा लगायतले खानेपानी सरसफाइ तथा स्वच्छताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका नारायण वाग्ले, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका आयोजना प्रमुख देवेन्द्र झा र सबैका लागि खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रमका विमल शर्माले आ–आफ्नो कार्यालयबाट भएका कार्यक्रम र अनुभवहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माले गोष्ठीको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button