तपाईँ सुन्दै हुनुहुन्छः

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै विपन्न समुदायका महिला

काठमाडौँ । स्याङ्जाका विपन्न समुदायका महिलाहरूले पछिल्लो समय सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । 

सुन्तलाको बिक्रीबाट घर व्यवहार चलाउनदेखि छोराछोरी पढाउन सजिलो भएपछि जिल्लाको वालिङ नगरपालिका क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायका महिलाहरू व्यावसायिक रुपमा सुन्तला खेतीमा आकर्षित भएका हुन् । 

This image has an empty alt attribute; its file name is 279226535_542408597271344_4231873086702941431_n-768x1024.jpg

वालिङ नगरपालिका–२ स्यालेकी ३२ वर्षीय जानुका नेपालीले ६ सय ५० बोट सुन्तलाबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । सुन्तलाले राम्रो मूल्य पाउँदा उहाँको वार्षिक आम्दानी करिब साढे तिन लाखसम्म हुन्छ । 

सुन्तलाको बिक्रीबाट हुने आम्दानीले दुई जना छोराछोरीलाई पढाउने र घर व्यवहार चलाउन सजिलो भएको जानुकाले बताउनुभयो । उहाँ भन्नुहुन्छ “पानीको अभाव छ, समयमा आकाशको पानी पनि नपर्दा सुन्तलाका बोट धेरैजसो मरेका थिए, पोहोर साल फुल खेल्ने बेला खडेरी पर्दा बोटै मरेको थियो तर यसपालि समयमा पानी परेर राम्रो छ ।” 

१५ वर्षदेखि सुन्तला खेती गर्दै आउनुभएकी जानुकाले स्थानीय मेरो माइक्रो फाइनान्स लघुवित्त बयरघारीबाट कर्जा लिएर सुन्तला खेतीका अतिरिक्त  भैँसी र बाख्रा पालन समेत गर्दै आउनुभएको छ । 

जानुका मात्र होइन ३८ वर्षीया मिरा सार्कीले पनि आफ्नै बारीमा अन्य खेती लगाउन छोडेर १२० बोट सुन्तला रोप्नुभएको छ । २२ वर्षदेखि गर्दै आएको सुन्तला खेतीबाट वार्षिक दुई लाखसम्म आम्दानी हुने गरेको मिराले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सुन्तलाका बोट रोप्दा खानालाई मात्र नभई बेच्नलाई पनि रोप्ने सोचका साथ अगाडि बढेको छु ।”

लघुवित्तको कर्जाको सहायताले मिरा र जानुकाले सुन्तला खेतीमार्फत राम्रो आम्दानी गर्न र आफ्नो आर्थिक अवस्थामा सुधार गरेको देखेपछि स्थानीय अन्य महिलाहरू पनि लघु वित्तबाट कर्जा लिएर सुन्तला खेती गर्न थाल्नुभएको छ । 

मेरो माइक्रो फाइनान्स लघुवित्त वयरघारी शाखा कार्यालयले महिलाहरूलाई व्यवसाय गर्न इच्छाशक्ति भएको तर आर्थिक अभाव भएका महिलालाई समूहमा आबद्ध गराएर कर्जा प्रदान गर्दै आइरहेको शाखा प्रबन्धक प्रकाश पङ्गेनीले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा वाणिज्य बैङ्कहरूको पहुँच नपुगेको र पुगे पनि धितोलगायतका प्रक्रियागत झमेलाले गर्दा अन्योलमा परेका महिलाहरूलाई बिना धितो कर्जा दिने गरेकाले स्थानीयहरू आकर्षित भएका छन् ।बैङ्कको सुविधा नपुगेका ग्रामीण भेगका महिलाहरुबीच बिना धितो कर्जा प्रवाह गर्दै महिला उद्यमशीलता र सशक्तीकरणमा लघुवित्तले योगदान पुर्‍याएको उद्यमशील महिलाहरूको भनाई छ । 

This image has an empty alt attribute; its file name is 279297552_1031500384120371_7850589538974739664_n-768x1024.jpg

महिला उद्यमीका लागि बिना धितो तीन लाख रुपैयाँसम्मको ऋण दिँदै आएको छ । यस फाइनान्सका शाखा प्रबन्धक पङ्गेनीका अनुसार, २०६९ सालदेखि नेपाल सरकारबाट लघुवित्त कार्यक्रम गर्न लाइसेन्स पाएको मेरो माइक्रोले २०७० सालदेखि औपचारिक रूपमा कारोबार गर्न थालेको हो । 

अहिलेसम्म यस संस्थाले एक सय ५० शाखा विस्तार गरिसकेको छ । ६८ वटा जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको शाखा प्रबन्धक पङ्गेनीले जानकारी दिनुभयो । 

उहाँले फाइनान्सबाट देशभरि कुल १३ हजार ६ सय केन्द्र (समूह)ले सेवा लिइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button