गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट उडान र अवतरण सुरु

रुपन्देही । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ ।
बिहान ७ बजेर १५ मिनेटमा यति एयरले पहिलो उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएको विमानस्थलका महाप्रबन्धक गोविबन्द दाहालले जानकारी दिनुभयो ।
अब सबै उडान र अवतरण पुरानो रनवेमा नभएर नयाँ रनवेमा हुने र पुरानो रनवेलाई ट्याक्सी–वे का रुपामा प्रयोगमा ल्याइएको दाहालले बताउनुभयो ।
१५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको हो ।
सन् १९५८ जुलाई ८ तारिखबाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको छ । यहाँबाट दैनिक १५ देखि २८ वटासम्म आन्तरिक उडान हुँदै आएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि हुनेछ ।
आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।
एरोनटीकल इन्फर्मेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयर¥याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाई रुट, नेभिगेसन र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ ।
आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान–अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् ।
जेठ २ मा परेको बुद्ध जयन्तीको अवसरमा यहाँबाट अन्तर्राष्ट्रिय उडानको उद्घाटन हुन लागेको छ ।
विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र कार्गो व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दाहालले बताउनुभयो ।
अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लयागतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उहाँले बताउनुभयो ।
विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भ¥याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुराइसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।
महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो १ हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो ।
यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । हालसम्म औपचारिक रूपमा जजीराले अनुमति लिए पनि अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । यसको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ ।
कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक रुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कमी हुने विश्वास लिइएको छ ।बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।
टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।








प्रतिक्रिया राख्नुहोस्