तपाईँ सुन्दै हुनुहुन्छः

महिलाको उम्मेदवारीलाई प्राथमिकता दिन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी वैशाख ३० गते हुने  स्थानीय तहको निर्वाचनमा  महिलाको उम्मेदवारीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । 

नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले आज काठमाडौँमा आयोजना गरेको मिडियासँग अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त थपलियाले एउटै दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेको जानकारी दिनुहुँदै  राजनीतिक दलहरूले  त्यो  व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यसअघिका निर्वाचन खर्चिलो भएको भन्दै राजनीति दल सुरक्षा संयन्त्रका लागि खर्चको सीमा तोकेको पनि जानकारी दिनुभयो । 

उहाँले आयोगका सबै पदाधिकारीको म्याद आगामी जेठ ५ गते नै सकिने पनि जानकारी दिनुभयो ।   
त्यसैगरी प्रमुख आयुक्त थपलियाले निर्वाचनको मौन अवधि सुरु भएदेखि नसकिएसम्म देशभर मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रस्ताव गरेको पनि जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमले कहिल्यै निर्वाचनको विपक्षमा नलेखेको भन्दै निर्वाचन आचारसंहिताको बन्धनभित्र बस्नु सबैको दायित्व भएको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचन स्वतन्त्र निष्पक्ष बनाउनु महासङ्घ र पत्रकारको पनि दायित्व भएको बताउँदै महासङ्घले  सातै प्रदेशमा निर्वाचनबारे पत्रकारलाई अभिमुखीकरण गरेको जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button