तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष दाहालको नामअनुसारको सार्थक पुस्तक ‘नयाँ युगको पदचाप’

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरूको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसारकै सङ्ग्रहको रूपमा रहेको समीक्षक तथा लेखकहरूबाट प्रतिक्रिया आएको छ ।

जन सांस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा लेखक तथा समालोचकहरूबीच भएको ‘नयाँ युगको पदचाप: पुस्तक परिचर्चा’का क्रममा उहाँहरूले नाम अनुसारका सामग्रीहरू किताबमा समेटिएको उल्लेख गर्नुभएको छ । 

जन सांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मातृका पोखरेलले मान्छे बनावटी कामलाई प्रचार गरिरहेको सन्दर्भमा तत्कालीन समयमा भएका यथार्थ कुरा जनतासामु पुग्न नसकेको पुस्तकमा समावेश आलेखहरूले स्पष्ट पारेको बताउनुहुन्छ ।

उहाँले उपलब्धिलाई संस्थागत गर्न नसकिको जिकिरसहित पुस्तकको नाम जस्तै सामग्रीहरू पुस्तकमा समेटेको छ भन्नुभयो । विशेष गरी अध्यक्ष दाहाल दुई पटक प्रधानमन्त्री हुँदा बोलेका विचारहरूको सङ्गालोका रूपमा पुस्तक आएको र त्यसले समग्र आन्दोलन र त्यसले ल्याएको उपलब्धि बोलेको उहाँको भनाइ थियो । 

पुस्तकमाथि विचार राख्दै समालोचक तेजविलास अधिकारीले महत्त्वपूर्ण आधार स्थापना गरेर उपलब्धिलाई सैद्धान्तिक र कार्यनीतिगत कोणबाट अगाडि बढाउने व्यक्ति अध्यक्ष दाहाल हो भन्ने कुरा ६० वटा लेखले स्पष्ट पारेको बताउनुभयो ।

उहाँका अनुसार पुस्तकमा दाहाल गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदाका १५ र दोस्रो सरकारको नेतृत्व गर्दा सम्बोधन गरिएका भाषणका ४६ आलेख समावेश छन् । उहाँले त्यसमा १० वर्षे जनयुद्ध, त्यसपछिका सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, समावेशीकरणका लागि भएको अन्तर सङ्घर्ष र उपलब्धिलाई पुस्तकमा समावेश गरिएको सुनाउनुभयो ।

“आन्तरिक र बाह्य शक्तिबीचको खिचातानीले समीकरण अदलबदल हुने स्थिति आयो, त्यो कुरा यहाँ पाइन्छ”, उहाँले थप्नुभयो, “त्यस अलावा हलिया प्रथा हटाउनेदेखि कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालय खोल्ने, सातै प्रदेशमा कृषि क्याम्पस खुलाउने, राजस्व वृद्धि र कृषि विकासमा गरिएका प्रयत्न केके रहे भन्ने कुरा स्पष्ट पाइन्छ ।”
 पुस्तकमा सीमित उपलब्धिहरू बुँदागत रूपमै समावेश गरिएको छ । आज मुलुकमा जे जे काम भइरहेको छ, चर्चा भइरहेको छ, त्यो कुरालाई यो पुस्तकमा राम्रोसँग उल्लेख गरिएको छ । उहाँले पहिले नै स्थापित गरिसक्नुभएको र आज हामीले एजेण्डा खोजिरहँदा ती एजेण्डा त्यहीँ रहेको पनि बताउनुभयो ।

“पुस्तक केवलमा भाषणको लेख मात्रै छैन, इतिहासलाई हेरेर वर्तमानलाई कसरी सुधार गर्ने भन्ने विषय पनि मजाले पाउन सकिन्छ”, समालोचक अधिकारीले थप्नुभयो ।

अर्का समालोचक प्रा डा धनप्रसाद सुवेदी पुस्तकलाई भाषणको सङ्ग्रहका रूपमा मात्रै लिनु गलत हुने भनाइ राख्नुभयो । उहाँ पुस्तकमा जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण र त्यस क्रममा देखा परेका जटिलता एवं अन्तर सङ्घर्ष पाउन सकिने बताउनुहुन्छ । 

सुवेदीका अनुसार सुरुको ‘फेज’मा अध्यक्ष दाहालका तीव्र आवेगसहितको अभिव्यक्ति मिसिएको देखिन्छ भने त्यसपछि अगाडि बढ्न खोज्दा देशी–विदेशी शक्तिबाट यथास्थितिमा रोक्ने प्रयत्न भएको आलेखबाट थाहा हुन्छ । पुस्तकमा समाजवादका भ्रूणहरू यथेष्ट रहेका पनि उहाँले औँल्याउनुभयो । 

सुवेदीले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, महिला, आदिवासी जनजाति, पिछडिएका वर्ग, समुदायबारे माओवादीको धारणा प्रचण्डमार्फत पुस्तकाकारका रूपमा आएको छ, इतिहास, समाजवाद र साहित्य पनि सँगसँगै मिसिएर आएको छ ।”

पुस्तक ५०० वर्ष पछाडिका पाठकले पढ्यो भने जनयुद्धदेखिका राजनीतिक आन्दोलनका प्रतिविम्ब पाउन सकिने खालको भएकाले एउटा इतिहास बोकेको उहाँको विश्लेषण छ । 

“नयाँ युगको पदचाप पढिरहँदा भन्न सजिलो छ, गर्न गाह्रो छ भन्ने कुरालाई स्थापित गरिदिएको छ, प्रचण्डले केही गरेन भन्ने छ, त्यस कुरालाई पुष्टि गर्ने प्रयास पुस्तकमा गरिएको छ र उहाँले पनि अनुभूत गर्नुभएको छ”, उहाँले अगाडि थप्दै भन्नुभयो, “केही गरेन भन्नेहरूले चाहिँ के गरे त रु” उहाँका अनुसार पुस्तकमार्फत भविष्यको चित्रण ठ्याक्कै नआए पनि अग्रगामी दूर दृष्टि देखाउन खोज्नुभएकाले नाम सार्थक रहेको छ । 

पत्रकार तथा समीक्षक भवानी बराल पत्रकारका लागि पुस्तक सूचनाको स्रोत नै भएको र भित्रका एउटा–एउटा विषय खोजेर गहिरो आलेख बनाउन सकिने उल्लेख गर्नुहुन्छ । कृतिका आएका विषय प्रचण्डले बोलेको कुरा होइन, त्यतिबेलाको सरकारको भनाइ हो भन्दै बरालले समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्रको संस्थागत गर्ने सन्दर्भमा उहाँका प्रयास झल्किएको छ । 
उहाँले अहिले ३३ प्रतिशत महिला सहभागिता भइरहेका बेला पुस्तकमा नै ४० प्रतिशत महिला सहभागिताको कुरा उठाइएको छ । पुस्तकमा उठान भएको आदिवासी, जनजाति तथा अन्य वर्ग, समुदायको प्रतिनिधित्वको कुरालाई अहिले पनि पत्रकारले जुनसुकै तरिकाले पनि उठान गर्न सक्ने बताउनुभयो ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जूगल’ले यसलाई पुस्तकाकारको रूपमा ल्याउने क्रममा संयोगवश आफू पनि सचिवालयमा रहेको स्मरण गर्दै विहङ्गम ढङ्गले सुरुआत नगरिए पनि पछि एउटा दस्ताबेजकै रूपमा आएकामा खुसी व्यक्त गर्नुभयो ।

“मुलुकमा ठुला–ठुला परिवर्तन भए, कुनै दस्ताबेज नै छैन, उपलब्धि छैन भने जस्तै भयो त्यसैले एउटा प्रयास गरिएको हो”, सापकोटाले भन्नुभयो, “त्यसलाई संस्थागत गर्ने काम भएको छ ।”

एउटा पुस्तक ‘गणतन्त्रको दशक’ संसद्मा बोलेका विचारहरूको सङ्गालोका रूपमा आएको र नयाँ युगको पदचाप भने सरकारमा सहभागी हुँदा बोलेका विचारहरू समेटिएको जानकारी गराउँदै उहाँले अझै धेरै कुराहरू छुटेको हुँदा यस्तै परिचर्चाबाट पुस्तकलाई थप समृद्ध पार्दै लैजाने बताउनुभयो । 

उहाँले सामग्री सङ्कलनका क्रममा संसद्लगायत सरकारी निकायमा कडा चुनौती झेल्नुपरेको सन्दर्भ जोड्दै भन्नुभयो, “अध्यक्ष दाहालले बोलेका कतिपय विचारको अभिलेखहरू नै संरक्षण नगरिएकाले सामग्री सङ्कलनमा पनि कष्ट झेल्नुपरेको सुनाउनुभयो । उहाँका अनुसार कतिपय दस्ताबेज नै नामेट बनाएको छ ।

उहाँले भाषणका क्रममा पनि अध्यक्ष दाहाल आफैँ रिपोर्ट गरेर लैजाने गरेको जानकारी गराउँदै उहाँले पुस्तकका धेरै आलेख पनि उहाँ आफैँले नै सङ्कलन गरेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button